कोरोनाबाट एक पत्रकारसहित दुई जनाको मृत्यु
काठमाडौं, भदौ २३ : कोरोना भाइरसको संक्रमणबाट कपिलवस्तुका एक जना पत्रकारको मृत्यु भएको छ। त्यस्तै, बाराका अर्का एक बृद्धको पनि गएराति ज्यान गएको...
काठमाडौं, भदौ २३ : कोरोना भाइरसको संक्रमणबाट कपिलवस्तुका एक जना पत्रकारको मृत्यु भएको छ। त्यस्तै, बाराका अर्का एक बृद्धको पनि गएराति ज्यान गएको छ।
तौलिहवास्थित जिल्ला अस्पतालमा उपचाररत तालिहवाका ६२ वर्षीय पत्रकारको सोमबार मृत्यु भएको जनाएको छ। अस्पतालका अनुसार उनी मिर्गौला, सुगर र उच्च रक्तचापबाट पीडित थिए।
उनको परिवारका एक जनामा भदौ ८ गते कोरोना संक्रमण देखिएको थियो। त्यसपछि भदौ ११ गते उनको परिवारका आठ जनाको कोरोना परीक्षण गरिएको थियो।
उनको सोमबार मृत्यु भएपछि आएको रिपोर्टमा कोरोना देखिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताए। उनको परिवारका सदस्यको रिपोर्ट भने अझै आएको छैन।
त्यस्तै, गएराति वीरगन्जस्थित नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचाररत बाराका ६० वर्षीय बृद्धको मृत्यु भएको छ। बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुरका बृद्धको उपचारका क्रममा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले बताए।
उनलाई भदौ १४ गते कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना भएका थिए। डा. चौरसियाका अनुसार उनी मधुमेहबाट पनि पीडित थिए।











