Kathmandu Press

एक दशकदेखि महिला बन्दी गृह निर्माण अलपत्र

पर्वत, वैशाख ८ : साबिकको धौलागिरि अञ्चलका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई समेट्ने गरी निर्माण थालिएको एक मात्र महिला बन्दी गृह झण्डै ए....

एक दशकदेखि महिला बन्दी गृह निर्माण अलपत्र
फाइल फोटो

पर्वत, वैशाख ८ : साबिकको धौलागिरि अञ्चलका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई समेट्ने गरी निर्माण थालिएको एक मात्र महिला बन्दी गृह झण्डै एक दशकदेखि अलपत्र अवस्थामा छ। 

दश वर्ष अगाडि ७२ लाख  रुपैयाँको योजनामा बन्दी गृह निर्माणको काम शुरु गरिएको थियो। तत्कालीन अवस्थामा १४ लाख रुपैयाँमात्र बजेट आएपछि सोही रकमले मात्र  निर्माण थालिएको बन्दी गृह नै अलपत्र परेको हो। 

Hardik ivf

१४ लाख रुपैयाँमा गृह निर्माणस्थल सम्याउने, जग राख्ने र दुईतर्फको भित्ता निर्माण गर्ने काम सकिएको छ। तर आवश्यक परेको बजेट नआउँदा ९ वर्ष अगाडि इँट्टाबाट निर्माण गरिएका भित्तासमेत पल्टने अवस्थामा पुगेका छन् भने बन्दी गृह निर्माण गर्न लागिएको ठाउँमा बुट्यान र घाँसले ढाकेको छ।

२५ जना क्षमताको उक्त बन्दी गृह निर्माण कार्य पूरा गर्नको लागि पटक पटक सम्बन्धित निकायमा रकम माग गर्दा पनि निकासा नभएपछि तत्कालीन समयमा आएको १४ लाख रुपैयाँको काम बालुवाको पानी बनेको छ। जिल्ला कारागार कार्यालयका निमित्त प्रमुख प्रकाश पौडेलले निर्माण कार्य पूरा गर्नका लागि हरेक वर्ष बजेटको माग गरिएको भए पनि कही कतैबाट बजेट विनियोजन नहुँदा योजना अलपत्र परेको बताए।  

विसं २०६६ मा निर्माण शुरु गरिएको बन्दीगृहको काम १० प्रतिशत मात्र सकिएको छ। एक वर्षभित्रमा  निर्माण गरिसक्ने भनिएको बन्दी गृहको काम निर्माण शुरु गरेको नौ वर्ष हुँदा ९० प्रतिशत काम बाँकी रहेको छ।

महिलाका लागि छुट्टै बन्दी गृह निर्माण गरिएको धौलागिरि क्षेत्रकै यो पहिलो हो। महिला बन्दी गृह निर्माण हुन नसकेपछि कारागारभित्रै विभाजन गरेर दुई भागमा महिला पुरुषलाई राखिएको छ। क्षमताभन्दा तेब्बरको सङ्ख्यामा कैदी बन्दी राख्नुपर्दा निकै समस्या परेको कार्यालयले जनाएको छ। रासस

प्रकाशित मिति: १७:२८ बजे, आइतबार, वैशाख ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्