स्वच्छ र सफा रहेनन् गाउँ
तेह्रथुम, माघ ४ : गाउँ भन्नासाथ धेरैको दिमागमा आउँछ स्वच्छ, सफा र कञ्चन हावापानी । यस्तो सोच राख्नुभएको छ भने अब हटाए हुन्छ । गाउँ पनि धुवाँ धुलोको प्रदूषणबाट अछुतो छै....
तेह्रथुम, माघ ४ : गाउँ भन्नासाथ धेरैको दिमागमा आउँछ स्वच्छ, सफा र कञ्चन हावापानी । यस्तो सोच राख्नुभएको छ भने अब हटाए हुन्छ । गाउँ पनि धुवाँ धुलोको प्रदूषणबाट अछुतो छैन ।
निर्माणाधीन र कच्ची सडक धुलाम्मे बनेपछि वातावरण प्रदूषित बन्दै गएको हो । निर्माण हुँदै गरेका र ट्र्याक मात्रै खोलिएका कच्ची सडकबाट गाउँ–गाउँसम्म सवारीका साधनहरु पुग्न थालेपछि धुलोको प्रदूषण फैलिएको हो ।
धुलोका कारण गाउँका बासिन्दा बिरामी पर्न थालेका छन् । यातायातका साधन सञ्चालन हुँदा आवतजावतका लागि सजिलो भए पनि सडकको धुलोले आसपासका बासिन्दाको स्वास्थ्यमा असर पारिरहेको छ । सडकका धुलो अहिले सडक आसपासका रुख, बिरुवा, बालीनाली, घर, बजार र पानीका मुहानसम्म पनि पुगेको छ ।
जिल्लामा गत असोजयता धेरै वर्षा भएको छैन । वर्षा नभएपछि सडकमा धुलोको मात्रा घट्न सकेन । सडक निर्माणसँगै गाउँका गोरेटा बाटो मासिएका छन् । त्यसैले हाटबजार गर्ने गाउँले, विद्यार्थी र स्थानीयवासी आवतजावत गर्दा सडकबाटै पैदल हिँड्छन् तर, धुलो खान बाध्य छन् ।
दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका सबै ४३ वटै वडामा सडक पुगेको छ । निर्माणाधीन ती सडक सबै धुलाम्मे छन् । सवारी नै नगुड्ने सडकबाहेक दैनिक सवारी सञ्चालन भइरहेका म्याङलुङ्ग–वसन्तपुर, सिधुवा–शुक्रबारे, जिरिखिम्ती–मोराहाङ, म्याङलुङ्ग–संक्रान्ति, म्याङलुङ्ग–तमोर सडक खण्डमा यात्रा गर्ने यात्रुहरुको पूरै शरीर धुलाम्मे हुने गरेको छ ।
यीमध्ये मध्यपहाडी लोकमार्गको म्याङलुङ्ग–सक्रान्ति–माझीटार सडक खण्डमा सबैभन्दा धेरै धुलो रहेको छ । सडक निर्माणका क्रममा ठूला सवारी साधन निरन्तर ओहोरदोहोर गरिरहँदा सडक धुलाम्मे बनेको हो । असोजयता जिल्लाका ६ वटै स्थानीय तहका केन्द्रसम्म निरन्तर सवारी सञ्चालन भइरहेको छ । यसकारण पनि सबै सडक धुलाम्मे भएका यातायात व्यवसायी डिल्ली रेग्मी बताए। ‘सडक सबै कच्ची छन् । कच्ची सडकमा हिउँदमा धुलो उड्नु स्वाभाविक नै भयो,’ उनले भने ।
ती सडकमा यात्रा गर्दा धुलोले यात्रु र चालकलाई पनि धुलाम्मे बनाउने गरेको छ । ‘सडक आउँदा के–के न होला भन्ने लागेको थियो, अहिले धुलोले घरै पुर्न लाग्या छ, घरमा कसैलाई सन्चो छैन,’ म्याङलुङ्ग नगरपालिका–९, साब्लाका गोविन्द सुवेदीले भने । चार वर्षयता निर्माण भइरहेको मध्यपहाडी लोकमार्गले नाफा भन्दा बढी घाटा गरेको उनको बुझाइ छ ।
‘गाडी चढेर त वर्षमा एक–दुई पटक गइन्छ, त्यति चाहीँ फाइदा छ,’ उनले भने, ‘बाँकी अरु सबै घाटा मात्रै छन् ।’ धुलोले गाउँका धेरै बिरामी परेका छन् । सुवेदीका अनुसार अहिले गाउँमा रुघाखोकी लाग्नु सामान्य हो । सडक छेऊमै रहेको बुढाथोकीको घरको छानो धुलोले सेताम्मे छ । घर वरिपरि लगाएका फलफूलका पात धुलोले भरिएका छन् । घरमा प्रयोग हुने खानेपानी, लत्ताकपडा लगायत अन्य कुराहरु केही पनि छैन, जो धुलोबाट अछुतो होस् । बिहान नुहायो, बेलुकै नुहाउनुपर्ने अवस्था आएको उनले बताए ।
मध्यपहाडी लोकमार्गको म्याङलुङ्ग–सक्रान्ति–माझीटार खण्डका सडक छेऊका बस्तीमा धुलोका कारण प्रदूषण फैलिएको आठराई गाउँपालिका–४, इवाका डम्बर गुरुङले बताए । ‘बाटो त बन्यो, फाइदा पनि छ,’ उनले भने, ‘तर हिउँदको यो धुलोले गाउँमा धेरैलाई बिरामी बनाएको छ । तरकारी, फलफूल केही बनाएर खान नदिने भयो ।’
धुलोका कारण सुन्तला, नास्पाती, मेल, सडक छेऊको अलैँची लगायत बालीनाली मर्न थालेको उनले बताए । ‘फूल लाग्न लागेका फलफूलमा आएर धुलो टाँसिएको हुन्छ, डाँठ, हाँगा कतै पनि अछुतो छैन, अनि त बोटै मार्ने रहेछ,’ उनले सुनाए । धुलोले विद्यालय जाने बालबालिकालाई पनि असर गरेको छ । गोरेटो बाटो मासिएपछि सडकबाटै हिँडेर जाने बालबालिकालाई धुलोले सताउने गरेको छ ।
धुलोले लुगा, कापी, किताब केही पनि बाँकी नराख्ने म्याङलुङ्ग नगरपालिका–९, साब्लास्थित नारायण माविका छात्र शम्शेर तामाङले बताए । ‘घरबाट नुहाएर हिँड्यो, स्कुल पुग्दा धुलै–धुलो हुन्छ,’ उनले भने, ‘सडकमा हिँड्दा मास्क नलगाई हिँडे दुई दिनमा थला परिन्छ ।’ विद्यालयका धेरैजना विद्यार्थी रुघाखोकी जस्ता समस्याबाट ग्रसित भएका सो विद्यालयका शिक्षक शरणकुमार रिजालले बताए ।
धुलोका कारण गाउँभर प्रदूषण फैलिएको फेदाप गाउँपालिका–२, ओयाक्जुङका वडाध्यक्ष गोविन्द मादेम्बा स्वीकार्नुहुन्छ । ‘सिङ्गो गाउँ नै धुलोबाट प्रदूषित छ, रुघाखोकी नलाग्ने थोरै मात्रै छन्,’ उनले भने । धुलोले अलैँची, सुन्तला, कागती, रायो, तोरी लगायत बालीनाली, खानेपानीका मुहान र वायु प्रदूषित बनाएको फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङस्थित स्वास्थ्य चौकीका इन्चार्ज धनराज राईले बताए ।
‘धुलोले गाउँमा रुघाखोकीका बिरामी बढेका छन्, पानी, हावा र खानेकुराको माध्यमबाट धुलाले मानव स्वास्थ्यमा असर गरिरहेको छ,’ उनले भने । मध्यपहाडी लोकमार्गले मात्रै जिल्लाको पूर्वी आठराई गाउँपालिकाबाट फेदाप हुँदै म्याङलुङ्ग नगरपालिकाका करीब दश वटा वडालाई प्रभावित गरेको छ । लोकमार्गका अधिकाँश खण्डमा निर्माणको काम भइरहेकाले बढी धुलो उठेको छ ।
धुलोले वातावरण पूरै प्रदूषित भए पनि धुलो नियन्त्रणका लागि कसैले पहल गरेको छैन । जिल्लाको जिरिखिम्तीदेखि मोराहाङ जाने सडकमा पनि कम धुलो छैन । दैनिक बस गुडिरहेको सो सडकबाट जिरिखिम्तीबाट मोराहाङ पुग्नेहरु धुलोले सेताम्मे हुन्छन् । धुलोले आसपासका बस्ती प्रदूषित भएको मेन्छ्यायेम गाउँपालिका–५, मोराहाङका भीम भट्टराईले बताए ।
निर्माणाधीन वसन्तपुर–गुफाबजार खण्ड भएर पनि अहिले दैनिक सवारी गुडिरहेका छन् । सो सडक पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजले क्षेत्र प्रवेश गर्ने भएकाले पनि यहाँ सवारी चाप बढी छ ।
धुलोले मानव स्वास्थ्यमा तत्काल असर पारेर सास्ती दिए पनि सम्भावित दीर्घ रोगहरुबारे गाउँका सर्वसाधारण सचेत छैनन् । रुघाखोकीलाई सामान्य मानेर वास्ता नगर्नेहरुको स्वास्थ्यमा दीर्घकालीन रुपमा धुलोले नराम्रो असर गर्न सक्छ ।
जिल्लाका सबै स्वास्थ्य संस्थामा धुलोबाट प्रभावित भएर बिरामीको सङ्ख्या वृद्धि भएको जिल्ला अस्पतालका डा. रोहित झाले बताए । ‘धुलोबाट हुने इन्फेक्सन धेरै देखिएको छ, त्यस्ता बिरामी धेरै आइरहेको डेटा हामीसँग छ,’ उनले भने ।
धुलोले तत्काल गर्ने असरबाहेक धुलोका कणहरुबाट क्यान्सर, हृदयाघात र मस्तिष्काघात जस्ता खतराहरु हुने डा. झाको भनाइ छ । ‘धुलोका कणहरु श्वासप्रश्वासमार्फत सिधै फोक्सोमा पुग्छन् । फोक्सो हुँदै रगतमा प्रवेश गर्छन्, रक्तसञ्चार प्रणालीमार्फत मुटुमा पुगेर जम्मा हुन्छन् र मष्तिष्काघात गराउँछन्,’ डा.झाले भने । (रासस)












