Kathmandu Press

रातो मच्छिन्द्रनाथको रथ तान्न गलत साइत दिइएको भन्दै ज्योतिषीको आपत्ति

रातो मच्छिन्द्रनाथको रथ तान्न गलत साइत दिइएको भन्दै ज्योतिषीको आपत्ति

काठमाडौं भदौ २२ : कोरोना भाइरसको संक्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथको रथ यात्राको साइत नमिलेको भन्दै ज्योतिषीहरुले आपत्ति जनाएका छ्न्। साइत हेर्दा तिथि र नक्षत्रको शुद्धाशुद्धिमा ध्यान दिइनुपर्नेमा आइतबार चतुर्थी तिथिका दिनको साइत दिइनु गलत भएको तोयनाथ पन्तको पात्रो (पञ्चाङ्ग) का सम्पादक सूर्यनाथ पन्तले बताए।

आइतबार नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भएअनुसार रिक्ता समूहमा पर्ने चौथी तिथि परेको छ। यसैगरी अश्विनी नक्षत्र पनि परेकाले पनि शुभ कामका लागि साइत दिन नहुने उनको भनाइ छ। रिक्ता तिथि र अश्विनी नक्षत्रलाई सूर्यले भेद गरेकाले पनि यस्तो साइत दिनु ठीक नभएको ज्योतिषीको भनाइ छ।

‘पितृपक्षसमेत परेका बेलामा कसरी साइत दिन मिल्छ ? कोरोनाको त्रास फैलिरहेका बेला उपत्यकामा चैत्र शुक्ल पक्षमा मनाइने सेतो मच्छिन्द्रनाथ, भक्तपुरमा वैशाख १ गतेका दिन मनाइने बिस्केट जात्रा र भाद्र शुक्ल पक्षदेखि आश्विन कृष्ण पक्षसम्म मनाइने इन्द्रजात्रासमेत रोकिएका बेला रातो मच्छिन्द्रनाथको जात्रा मनाउनै पर्ने कारण के हो ?’, पञ्चाङ्गकार पन्तले भने।

ज्योतिषविद् एवं वास्तुशास्त्री शिव पोखरेल इन्द्रजात्राको साइतका विषयमा ज्योतिष शास्त्रका बृहत्संहितालगायत ग्रन्थमा उल्लेख भए पनि रातो मच्छिन्द्रनाथको साइतका विषयमा उल्लेख भएको ग्रन्थ आफूले नभेटेको बताउछन्। रातो मच्छिन्द्रनाथकै विषयमा साइत निकाल्ने फरक तरिका उल्लेख भएको ग्रन्थ नभए पनि सामान्यरूपमा साइत दिन नहुने समयकै साइत आइतबार दिइएको पाइएको उनले जानकारी दिए। तिथिको हिसाबले शनिबार वा सोमबारको साइत किन नदिएको होला भन्ने आफूलाई लागेको ज्योतिषी पोखरेल बताउछन्। भदौ २६ गते मच्छिन्द्रनाथलाई बुङ्मती लैजाने साइत पनि उस्तै दिइनु गलत भएको ज्योतिषशास्त्री बताउँछन्।

किन आइतबारकै साइत रथ तान्न र भदौ २६ गतेको साइत मच्छिन्द्रनाथलाई बुङ्मतीमा भित्र्याउन दिइएको भन्ने सम्बन्धमा प्रतिक्रिया लिन जात्रा चलाउने गुठी संस्थान ललितपुरका प्रमुख राजन भुजु र साइत निकाल्ने समूहका ज्योतिषी कीर्तिमदन जोशीसँग पटकपटक सम्पर्क गर्दा पनि उनीहरु उपलब्ध भएनन्।

प्रायःजसो जेठ महिनामै रथयात्रा गरी भोटोजात्रा गरिने मच्छिन्द्रनाथको कार्यक्रम यस वर्ष कोरोना भाइरस फैलने डरले स्थगन गरिँदै आएको थियो। कोरोनाबाट बच्न जारी निषेधाज्ञाका बीच गत हप्ता स्थानीयवासी जात्रा गर्नुपर्ने माग गर्दै सडकमा उत्रिएपछि रथ तान्न दबाब परेको थियो।

प्रकाशित मिति: १२:२३ बजे, सोमबार, भदौ २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्