गण्डकी प्रदेशमा थप ६७ जनालाई कोरोना, संक्रमितमध्ये केहि नर्स र स्वास्थ्यकर्मी

काठमाडौं, भदौं २२ : गण्डकी प्रदेशमा सोमबार एका बिहानै ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा संक्रमित हरूको कुल संख्या दुई हजार ५९८ पुगेको छ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक तथा गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार कास्कीमा ३१ जना, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १५ जना, गोरखामा १८ जना, तनहुँमा ३ जना रहेका छन् ।
संक्रमितमध्ये कास्कीको पोखरा महानगरपालिका ३१ जना, गैँडाकोट नगरपालिकामा १ जना, देवचुली नगरपालिकामा १४ जना, गोरखाको गोरखा नगरपालिकामा १६ जना, पालुङ्गटार नगरपालिकामा २ जना र तनहुँको व्यास नगरपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
कास्कीमा थपिएकामध्ये चारजना पोखरा महानगरपालिका स्थित पृथ्वीचोकमा रहेको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत २६ र २३ वर्ष उमेरका स्टाफ नर्स हुन् भने ३६ र २७ वर्ष उमेरका दुईजना महिला सहयोगी कर्मचारीको रूपमा कार्यरत छन्।
त्यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका १२ का ४० वर्षीय पुरुष पनि स्वास्थ्यकर्मी रहेको निर्देशनालयले जानकारी दिएको छ ।











