सरकारी विद्यालयमा परीक्षा लिएर प्रधानाध्यापक नियुक्त गरिँदै
रुकुम पश्चिम, भदौ २१ : सरकारी विद्यालयमा पहिलो पटक परीक्षा लिएर प्रधानाध्यापक नियुक्त गर्न लागिएको छ।रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले प्रधानाध्यापकका लागि परीक्षा लिएको...
रुकुम पश्चिम, भदौ २१ : सरकारी विद्यालयमा पहिलो पटक परीक्षा लिएर प्रधानाध्यापक नियुक्त गर्न लागिएको छ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले प्रधानाध्यापकका लागि परीक्षा लिएको हो। यस नियुक्त भएका प्रधानाध्यापकले तोकिएको काम गर्न नसके पाँच हजार जरिवाना गरिने भएको छ।
चौरजहारी नगरपालिकाले परीक्षामार्फत प्रधानाध्यापक छनोट गरिसकेको छ। उनीहरुलाई भदौ २ट गते नियुक्त दिन लागिएको मेयर विशाल शर्माले बताए।
नगरभित्र रहेका ३७ विद्यालयमध्ये ३० विद्यालयमा परीक्षामार्फत प्रधानाध्यापक छनोट भइसकेका छन्। विद्यालय विकास प्रस्ताव, त्यसको प्रस्तुतीकरण र समूह छलफलका आधारमा प्रधानाध्यापक छनोट गरिएको मेयर शर्माले बताए।
सबै प्रधानाध्याकपलाई पाँच वर्षका लागि करार सम्झौता हुने उनले बताए। सम्झौताअनुसार, न्यूनतम काम नगरे हटाउन सकिने व्यवस्था पनि गरिएको छ।
प्रधानाध्यापकमा छनोट हुनेमा स्थायी, अस्थायी, राहत तथा करारमा नियुक्त शिक्षकहरु छन्। नगरपालिकाले प्रधानाध्यापक भत्ता दुई सय प्रतिशतले बढाएको छ।
उनीहरुले पहिलो चरणमा नगरपालिकासँग एक वर्षको करार सम्झौता गर्नेछन्। एक महिना, तीन महिना र एक वर्षमा गर्नुपर्ने काम सम्झौतामा उल्लेख हुनेछ।
हरेक एक महिना, तीन महिना र १२ महिनामा गर्नुपर्ने काम नगरेको खण्डमा प्रधानाध्यापकबाट हट्नुपर्ने र पाँच हजार जरिवाना तिर्नुपर्नेछ। विभिन्न मापदण्डका आधारमा नगरपालिकाले प्रधानाध्याकपको कामको मूल्याङ्कन गर्नेछ। मूल्याङ्कनमा कम्तीमा ५० अङ्क ल्याउनुपर्नेछ।
मूल्याङ्कनका आधारमा ८० प्रतिशत बढी नतिजा ल्याउने प्रधानाध्यापकलाई ५० प्रतिशत भत्ता थप हुनेछ। नगर शिक्षा नियमावली–२०७४ को दोस्रो संशोधन, २०७७ अनुसार प्रधानाध्यापक नियुक्तिको प्रक्रिया अघि बढाइएको मेयर शर्माले बताए।











