आज फेरि रातो मत्स्येन्द्रनाथको रथ तानिँदै
काठमाडौं, भदौ २१ : रातो मत्स्येन्द्रनाथको रथ आज फेरि तानिने भएको छ। अपराह्न ३ बजे रथयात्रा गर्ने तयारी रहेको आयोजकले जनाएको छ।रातो मत्स्येन्द्रनाथलाई....jpg)
काठमाडौं, भदौ २१ : रातो मत्स्येन्द्रनाथको रथ आज फेरि तानिने भएको छ। अपराह्न ३ बजे रथयात्रा गर्ने तयारी रहेको आयोजकले जनाएको छ।
रातो मत्स्येन्द्रनाथलाई वर्षा र सहकालका देवताका रुपमा लिइन्छ। यस वर्ष कोरोनाका कारण रथयाता प्रभावित भएको छ। आज मत्स्येन्द्रनाथको रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई आज ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राख्न लागिएको हो।
आज बिहानैदेखि १९औं जातीय खलः पुचःका ५०१ स्वयं सेवक खटाएर रथको मर्मत सम्भार गराउनका साथै रथ तान्ने तयारी भइरहेको पुचःका संयोजक चन्द्र महर्जनले बताए। 'मुलुकमा दिनानुदिन फैलिरहेको कोरोना महामारीका कारण यसपटक लोकनाथलाई टोलटोलमा लगेर रथयात्रा तथा जावलाखेल पुर्याएर भोटोजात्रा गर्न सम्भव नहुँदा तीन–तीन फिट वा ६ फिटको दूरीमा हरेक मानिसलाई राखेर हातैले रथ तान्ने भएका छौं,' महर्जनले भने, 'हाल रथ भएको स्थानबाट मात्र १५ देखि २० मिटर पर सोह्रखुट्टे पाटीमा पुर्याउन लागेका छौं।'
गाःबहालबाट महानगरपालिकाको ढोकासम्म करिब पाँच सय मिटर मीननाथको रथ पनि तानिने उनले बताए।
लोकनाथ र मीननाथको दुवै रथ तान्न १९ जातीय खलका मानिसका साथै पाटन टोलका चारदेखि पाँच मानिस सहभागी हुने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए। 'रथयात्रामा सहभागी हुने मानिसलाई पूर्णरूपमा कोभिड–१९ को मापदण्ड अपनाउन लगाउने छौं,' उनले भने। रथयात्रा सम्पन्न भएपश्चात् पाटनवासीले आज घरघरमा छवयलाबु पर्व मनाउने महर्जनले बताए।
विगतका वर्षझैँ यस वर्ष टोलटोलमा रथयात्रा गर्न नसकेकाले देशमा कुनै अनिष्ट नहोस् भनेर शनिबार र शुक्रबार क्षमापूजा गरिएको थियो। आउँदो शुक्रबार सम्भव भएसँगै मत्स्येन्द्रनाथलाई बुङ्मती पठाउने विषयमा छलफल भइरहेको उनको भनाइ छ।
आर्यावलोकितेश्वरलाई साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको थियो।
वि.सं. ८०० मा राजा बरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए। मत्स्येन्द्रनाथ नेपाल आएको ८४ वर्षपछि रथ बनाउन शुरु गरिएको थियो।
किंवदन्तीअनुसार, एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले भिक्षा नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए।
यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मत्स्येन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याइएका थिए।











