अल्का अस्पतालकी कर्मचारीको शव फेला, हत्या आशंकामा एक जना पक्राउ
ललितपुर, भदौ २० : ललितपुरको लेलेमा अल्का अस्पतालकी कर्मचारी गीता केसीको शव फेला परेको छ। केही दिनदेखि हराइरहेकी उनको शव गोदावरी नगरपालिका– १० स्थित लेलेको...
ललितपुर, भदौ २० : ललितपुरको लेलेमा अल्का अस्पतालकी कर्मचारी गीता केसीको शव फेला परेको छ।
केही दिनदेखि हराइरहेकी उनको शव गोदावरी नगरपालिका– १० स्थित लेलेको जङ्गलमा फेला परेको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ। उनको हत्या गरिएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ।
तीन दिनअघि हराएको भन्दै ललितपुरस्थित प्रहरी कार्यालयमा निवेदन परेको थियो। सोही निवेदनका आधारमा खोजी गर्ने क्रममा उनको शव फेला परेको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।
गएराति शव फेला परेको र शव परीक्षणका लागि पाटन अस्पतालमा ल्याइएको छ। शव परीक्षणपछि मात्रै यकिन कारण खुल्ने जनाइएको छ। उक्त घटनाको अनुसन्धानका क्रममा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
ललितपुरका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङका अनुसार उनी १७ गते हराएकी थिइन्। शुक्रबार बेलुका लेलेस्थित सामुदायिक वन क्षेत्रमा उनको शव फेला परेको थियो।
राति घटनास्थल सुरक्षित राखेर फर्किएको टोलीले शनिबार बिहान गएर शव उठाएको थियो। महिलाको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ। रासस











