कर्णालीमा रोकिएनन् पर्व, कोरोनाको त्रास बढ्दो
जुम्ला, भदौ १९ : कर्णालीमा कोरोना कहरको वेवास्था गर्दै नागरिकहरुले पर्व मनाएका छन्। स्थानीय प्रशासनले भीडभाड नगर्न आग्रह गरेपनि स्थानीय बासिन्दाहरुले भने त्यसको वेवास्था...जुम्ला, भदौ १९ : कर्णालीमा कोरोना कहरको वेवास्था गर्दै नागरिकहरुले पर्व मनाएका छन्। स्थानीय प्रशासनले भीडभाड नगर्न आग्रह गरेपनि स्थानीय बासिन्दाहरुले भने त्यसको वेवास्था गर्दै पर्व मनाएका हुन्।
जिल्ला प्रशासनक कार्यालयले यसअघि नै जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट जिल्ला समन्वय समितिसहित यहाँका आठैवटा स्थानीय तहका जनप्रतिनिधि, प्रहरी र नागरिकलाई विभिन्न ठाउँमा हुने अनावश्यक भेला, जमघट, भिडभाडलाई रोक्न अनुरोध गरेको थियो।
तर नागरिकले त्यसको वेवास्था गरेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए। ''जिल्लामा कोरोना सङ्क्रमणको अवस्थालाई भयावह हुन नदिन र नागरिकको जीउधनको सुरक्षा गर्न निषेधाज्ञा जारी गरिएको छ”, उनले भने, “मास्क लगाउन, अनावश्यक भिडभाड नगर्न र भौतिक दूरी कायम गरी घरायसी कामकाज गर्न अनुरोध गर्दा पनि नागरिकहरु अनुशासित भएको पाइएको छैन ।”
साविकको कर्णालीमा मष्टो मान्ने संस्कृतिले कोरोना सङ्क्रमणको प्रकोपमा पनि यहाँका नागरिकहरु संयमित भएको पाइँदैन । जिल्लाको तातोपानी, तिला, हिमा गाउँपालिकाका विभिन्न स्थानमा रहेका थानमा (मन्दिर) दैनिक पैठ (मेला) रोकिएनन् । यस समयमा सबैभन्दा बढी पैठ हिमा गाउँको जोगीवाडा, बाँजागाड, मच्च, ऐडावाडा, बड्की र देवारगाउँमा लागेको जनाइएको छ ।
तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले कोरोनाको प्रकोपमा थान (मन्दिर) पुजारीलाई सामान्य पूजाआजा गर्न भनिए पनि मेला लगाएका अनावश्यक मान्छेको भीड गरेको बताए । प्रेस विज्ञप्ति जारी गरेर सूचनाका साथै निर्देशन नमाने कारवाही गर्ने चेतावनी दिइएको उहाँले जानकारी दिए।
प्रशासनले भेला, गोष्ठी नगर्न, भौतिक दूरी कायम गर्न, धार्मिक मेला नगर्न अनुरोध गरेको छ । यद्यपि पछिल्लो समयमा कोरोना सङ्क्रमणका कारण धार्मिक मेला बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धाँमीले जनशक्ति नै कमी भएकाले धार्मिक गतिविधि नियन्त्रण ल्याउन नसकिएको बताए।
जिल्लाको विभिन्न स्थानमा गरिएका मेलाले कोरोना सङ्क्रमणको डर भएको सरोकारवाला बताउँछन् । यस विषम परिस्थितिमा मेला, भेला गर्नु जो कोहीका लागि हानि हुने र सबै नागरिकले अनुशासित भएर सरकारको निर्देशन पालना गर्नुपर्ने नागरिक समाजका संयोजक राजबहादुर महतको सुझाव छ। -रासस