Kathmandu Press

टोखामा प्रादेशिक अस्पताल निर्माण हुने

टोखामा प्रादेशिक अस्पताल निर्माण हुने

काठमाडैं, भदौ १९ : टोखा नगरपालिकामा प्रादेशिक अस्पताल निर्माण हुने भएको छ। वागमती प्रदेशको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखा नगरपालिका–२ मा रहेको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पताल बनाउने निर्णय गरेको हो। 

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी प्रदेश अस्पतालको रुपमा विकास गर्न प्रदेश सरकारले निर्णय गरेको जानकारी दिए।  

टोखाको भदौ ७ गते बसेको ६१औँ नगर कार्यपालिकाको बैठकले प्रदेश सरकारलाई प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नती गर्न सिफारिस गरेको थियो। उक्त स्वास्थ्य केन्द्र अब प्रदेश मातहत अस्पतालका रुपमा सञ्चालन हुनेछ। उक्त स्वास्थ्य केन्द्र स्तरोन्नतिसँगै ५० श्ययाको अस्पताल बन्नेछ। 

प्रदेश सरकारले हरेक जिल्लाको एउटा अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति गर्ने निर्णय गरेसँगै चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र काठमाडौँको प्रादेशिक अस्पतालमा पर्न सफल भएको हो। 

टोखामा बिहीबारसम्म २३३ कोरोना संक्रमित देखिएका छन् जसमध्ये ९२ डिस्चार्ज र १३८ सक्रिय संक्रमित छन्। सक्रिय संक्रमितमध्ये ९९ होम आइसोलेशन र ३८ जना विभिन्न अस्पतालमा उपचार भइरहेको छ। नगरपालिकाले होम आइसोलेशनमा बसेर कोरोना उपचार गराइरहेका बिरामीलाई दैनिक ३५० भत्तासमेत प्रदान गर्दै आइरहेको छ। 

वाग्मती प्रदेशको बिहीबारको बैठकले टोखाको चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रबाहेक ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताल, दोलखाको चरिकोट अस्पताल र चितवनको बकुलर रत्ननगर अस्पताललाई स्तरोन्नती गरी प्रदेश अस्पताल बनाउने निर्णय गरेको थियो।

प्रकाशित मिति: १६:५२ बजे, शुक्रबार, भदौ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्