Kathmandu Press

पूरा ज्याला, मख्ख मजदूर

पशुपतिनगर (इलाम), वैशाख ८ ‌‌: देशभरिका चिया मजदुरहरु सरकारले तोकेको पारिश्रमिक पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिरहदा इलामको सुर्योदय नगर....

पूरा ज्याला, मख्ख मजदूर
काठमाडौं प्रेस

पशुपतिनगर (इलाम), वैशाख ८ ‌‌: देशभरिका चिया मजदुरहरु सरकारले तोकेको पारिश्रमिक पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिरहदा इलामको सुर्योदय नगरपालिका–३ स्थित गोर्खा टि स्टेटका मजदुरहरुलाई भने यतिबेला चिया टिप्न भ्याई नभ्याई छ। उनीहरुलाई आन्दाेलनकाे वास्ता छैन।

सरकारले अहिले चिया मजदुरको दैनिक ज्याला तीन सय ८५ रुपैयाँ तोकेको छ । तर, याे सबैतिर कार्यान्वयन हुन सकेकाे छैन। उनीहरुले दुई सय ७८ रुपैयाँ मात्र पाउने गरेका छन्। जसले गर्दा चिया मजदरू आन्दाेलन गर्दै आएका छन। श्रम ऐनमा तोकिएअनुसार ज्याला पाउनु पर्ने उनीहरूकाे माग छ।

इलामको गोर्खा टि स्टेटका चिया मजदुरले भने श्रम ऐनमा तोकिए अनुसारकै ज्याला पाउने गरेका छन्।

कैलाली घर भई नौ महिनादेखि गोर्खा टी–स्टेटमा काम गर्दै आएका मजदुर बिष्णु बिक आन्दोलन नगरी आफूहरुले श्रम ऐनमा तोकिए अनुसारको ज्याला पाएकोमा खुशी व्यक्त गर्छन्। ‘सरकार जुनसुकै आए गए पनि हामीलाई कुनै मतलब छैन, हामीले राम्रै पारिश्रमिक पाइरहेका छौँ’, उनले भने, ‘यहाँबाट कमाएको रकमले घर खर्च चलाउन पुगेकै छ।’

उनीहरुलाई बस्नदेखि पानी, बत्ती सबै सुविधा पुर्‍याइदिएकोले पनि यहाँका चिया मजदुर उत्साहित देखिन्छन्। विक भन्छन्, ‘सबै सुविधा पुर्‍याइदिनुभएको छ। खाने व्यवस्था मात्र आफुले गनुपर्छ । त्यसैले पनि यहाँ काम गर्न थालेपछि घर खर्च पुर्‍याउन त्यति गाह्रो परेको छैन।’ परिवारमा दुई जना मात्र भएको र दुवै जनाले चिया मजदुरको रुपमा सोही उद्योगमा काम गर्दै आएको उनले बताए।

उनकी श्रीमती सरिता पनि सोही उद्योगमा काम गर्दै आएकी छन्। उनी त्यहाँ हरियो पत्ती टिप्ने काम गर्छिन्। हरियो पत्ती टिपेको प्रतिकिलो ४० रुपैयाँको दरले पाउने गरेको उनले बताइन्।

अहिले दिनभर काम गर्दा आठदेखि दश केजीसम्म हरियो पति टिप्ने गरेकाे उनले बताइन। सिजन (असार, साउन)मा भने १० देखि १२ केजीसम्म चियाका पत्ती टिप्ने गरेको उनले सुनाइन्।

त्यस्तै इलामको जोगमाईका भीम खड्का दश महिनादेखि यही चिया बगानमा काम गर्छन्। उनी पनि आफुरूले पाउने गरेको पारिश्रमिकमा सन्तुष्ट देखिन्छन्। श्रम ऐनमा तोकेअनुसारको ज्याला पाएकोले आन्दोलनमा उत्रिनु नपरेको उनले बताए। आफू र श्रीमतीले यही चिया उद्योगबाट कमाएको रकमले दुई छोराछोरीसहितको चार जनाको परिवार पालिरहेकाे उनले बताए। उनले भने, ‘छोराछोरीको पढाइ खर्चदेखि घरखर्चसम्म सबै यहि कमाइबाट चलेकाे छ। अहिलेसम्म पुगेकै छ।’

गोर्खा टि स्टेटमा अर्गानिक चिया मात्र उप्पादन हुने उद्योगका म्यानेजर बुद्दिबल राईले जानकारी दिए। उद्योगमा नाफा-घाटा जे भए पनि प्रांगारिक उत्पादनलाई टिकाई राख्नको लागि मजदुरलाई रिझाएर राखेकोे उनी बताउँछन्।

उनले भने, ‘अर्गानिक बनाएपछि कुनै बिषादीको प्रयोग हुँदैन। यसो हुँदा चियाको उत्पादन स्वतः रुपमा कम हुन्छ, त्यसलाई मध्यनजर गर्दै हामीले किसानलाई हरियो पत्ती प्रति केजि ९२ रुपैँया ५० पैसाका दरले दिँदै आएका छौँ।’ सिटिसि चियापत्ति अहिले प्रति केजि ४० रुपैयाँको दरले बिक्री भइरहेको छ।

आफुले मोनिटरिङ गर्दै आएका दुई सय ५७ जना किसान र साढे चार सय रोपनि जग्गामा फैलिएको आफ्नै बगानको हरियो पतिबाट मात्र अर्गानिक चिया उत्पादन हुँदै आए राईले बताए। यहाँ उत्पादन भएको चिया जर्मन जाने र केही मात्रामा भारत, जापान लगायतका देशमा विक्री हुँदै आएको छ।

प्रकाशित मिति: १३:३१ बजे, आइतबार, वैशाख ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्