Kathmandu Press

जनताको दुःखमा सरकार साथमा छ : गृहमन्त्री थापा

बागलुङ, भदाै १९ : गृहमन्त्री रामबहादुर थापाले ढोरपाटनका बाढी प्रभावितहरुलाई राहत सामग्री प्रदान गरेका छन्। उनले ढोरपाटन नगरपालिका–९ सुप्राङको बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनसमेत...
जनताको दुःखमा सरकार साथमा छ : गृहमन्त्री थापा

बागलुङ, भदाै १९ : गृहमन्त्री रामबहादुर थापाले ढोरपाटनका बाढी प्रभावितहरुलाई राहत सामग्री प्रदान गरेका छन्। उनले ढोरपाटन नगरपालिका–९ सुप्राङको बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनसमेत गरेका छन्। 

गृहमन्त्री थापासहित बागलुङ–२ का प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायतको टोली राहतसहित ढोरपाटन पुगेको थियो। बाढीले घरबास गुमाएका परिवारलाई तत्काल आवश्यक पर्ने त्रिपाल, टेण्ट, म्याटलगायतका सामग्री वितरण गरिएको हो। राहत वितरणपछि बोल्दै गृहमन्त्री थापाले बाढी प्रभावितहरुको राहत र पुनःस्थापनामा सरकारले सघाउने बताएका छन्।

“जनताको दुःखमा सरकार साथै रहेको उल्लेख गर्नुभएको छ”, उनले भने। गृहमन्त्री थापाले बाढीमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई सरकारले दुई लाखका दरले राहत प्रदान गर्ने बताए। 

यस्तै, पूर्णरुपमा क्षति भएका घरको पुनः निर्माणका लागि तीन लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको सांसद् पौडेलले बताए। उनले बाढीले क्षतिग्रस्त बनाएको सालझण्डी–ढोरपाटन सडकको मर्मत र स्तरोन्नतिका लागि आफूले सक्दो पहल गर्ने बताए। उनले बाढीले सडक, पुललगायत भौतिक संरचनामासमेत ठूलो क्षति पुगेकाले तिनको पुनःनिर्माणमा सबैको हातेमालो चाहिने उल्लेख गरे। 

बिहीबार राहत सामग्रीसहित गृहमन्त्री सवार नेपाली सेनाको हेलिकप्टर मौसम खराबीका कारण बीचबाटै फर्केको थियो। शुक्रबार पुनः नेपाली सेनाकै हेलिकप्टरबाट गृहमन्त्रीसहितको टोली राहत लिएर ढोरपाटन पुगेको हो। बुधबार राति भुजीखोलामा आएको बाढीका कारण ढोरपाटन नगरपालिका–९, ८ र ७ मा ठूलो धनजनको क्षति भएको छ। रासस

प्रकाशित मिति: १५:४४ बजे, शुक्रबार, भदौ १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्