Kathmandu Press

बागलुङ बाढी : मृतक चार जनाको सनाखत, ३८ अझै बेपत्ता

बागलुङ, भदौ १९ : भुजीखोलामा आएको बाढीले बगाउँदा मृत्यु भएका बागलुङको ढोरपाटनका १४ जनामध्ये चार जनाको सनाखत भएको छ। अझै बाढीमा बगेका ३८...
बागलुङ बाढी : मृतक चार जनाको सनाखत, ३८ अझै बेपत्ता

बागलुङ, भदौ १९ : भुजीखोलामा आएको बाढीले बगाउँदा मृत्यु भएका बागलुङको ढोरपाटनका १४ जनामध्ये चार जनाको सनाखत भएको छ। अझै बाढीमा बगेका ३८ जना बेपत्ता रहेका छन्।

बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा बाढीले बगाउँदा १४ जनाको मृत्यु भएको छ। जसमये ढोरपाटन–९ की २६ वर्षीया केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विकको सनाखत भएको छ। अन्य १० जना मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए।

उनीहरुको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। पहिचान भएकाहरुको आज पोस्टमार्टम गरिने भएको छ।

आज बिहानैदेखि बेपत्ता भएकाहरुको खोजी सुरु गरिएको छ। नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दा खोजीमा जुटेका छन्।

बुधबार राति आएको बाढीले ३१ घर बगाएको थिाये। सुतेको समयमा बाढी आएकाले धेरै जना बेपत्ता भएको प्रहरी नायब उपरीक्षक रेग्मीले बताए।

शव भेटिएकाहरु सनाखत गर्न कठिनाइ भइरहेको छ। धेरै शव क्षतविक्षत रहेकाले पहिचान गर्न नसकिएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए।

पहिरोले बगाएका अधिकांस घरको भग्नावशेषसमेत देखिएको छैन। बस्ती भएको स्थानमा अहिले खोला बगेको छ।

ढोरपाटन जाने सडकको देउरालीबाट खसेको पहिरोले भुजीखोला थुनिएर ताल बनेको थियो। एक्कासी ताल फुटेकाले ठूलो बाढी आएको स्थानीय बासिन्दाले बताए।

प्रकाशित मिति: ०९:५६ बजे, शुक्रबार, भदौ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्