चितवनमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

भरतपुर, भदौ १८ : चितवनमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। भरतपुर अस्पतालमा एक र चितवन मेडिकल कलेजमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो।
भरतपुर अस्पतालले दिएको जानकारी अनुसार राप्ती नगरपालिका–९ की ३५ वर्षीया महिलाको मृत्यु भएको हो। विगत तीन महिनादेखि मिर्गौलाको समस्याका कारण डायलोसिस गराइरहेकी उनलाई भदौ १४ गते खोकी र स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ।
भदौ १७ गते कोरोना संक्रमण देखिएको उनको कोभिड सघन उपचार कक्षमा बिहीबार साँझ ५ बजेर १० मिनेट जाँदा मृत्यु भएको अस्पतालले जनाएको छ।
यसअघि बिहीबारै चितवन मेडिकल कलेजको सघन उपचार कक्षमा गौँडाकोट नगरपालिका–५ का ३७ वर्षका एक पुरुषको मृत्यु भएको छ। अस्पतालका निर्देशक दयाराम लम्सालका अनुसार मिर्गौलामा समस्या देखिएपछि उनी भदौ ५ गते अस्पताल भर्ना भएका थिए।
उनको भदौ १० गते गरिएको स्वाब परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो। उपचारका क्रममा बिहीबार दिउँसो उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
यस्तै, गएराति भरतपुर महानगरपवालिका–११ का ४० वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको थियो। श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएकी उनमा कोरोना संक्रमण देखिएको थियो। उनको पनि चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
योसँगै चितवनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ। चितवनका ११, मकवानपुरका चार, नवलपरासी सुस्ता पूर्वका दुई, बारा, गोर्खा र कैलालीका एक–एक जनाको कोरोनाका कारण मृत्यु भएको हो। हालसम्म चितवनमा कोरोना संक्रमितको संख्या ८६२ पुगेको छ। रासस











