प्रदेश सरकारले विराटनगरमा थप एक हजार बेडको आइसोलेसन बनाउने
विराटनगर, भदौ १८ : कोरोना भाइरसको बढ्दो संक्रमण र जोखिमलाई मध्यनजर गरी प्रदेश १ सरकारले विराटनगरमा थप एक हजार बेड बराबरको आइसोलेसन केन्द्र...
विराटनगर, भदौ १८ : कोरोना भाइरसको बढ्दो संक्रमण र जोखिमलाई मध्यनजर गरी प्रदेश १ सरकारले विराटनगरमा थप एक हजार बेड बराबरको आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ।
बिहीबार प्रदेशस्तरीय सीसीएमसीको भर्चुअल बैठकले विराटनगरमा कम्तिमा एक हजार बेड हुने गरी आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो। सीसीएमसीको भर्चुअल बैठकमा मुख्यमन्त्री शेरधन राईले एक हजार बेड क्षमताको थप आइसोलेसन केन्द्र यथाशीघ्र निर्माण गर्ने गरी अगाडि बढ्न एवं प्रदेशभित्र हालसम्म आइसोलेसनको प्रयोगको अवस्थासहित विस्तृत विवरण तयार गर्न निर्देशन दिएका छन्।
आइसोलेसन निर्माणको जिम्मा सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी प्रदान गरिएको छ। आइसोलेसन स्थानीय पालिका, निजी क्षेत्र लगायतसँग समन्वय र साझेदारीमा सञ्चालन हुने छन्। बैठकले प्रदेशभित्र लकडाउन, निषेधाज्ञा, कर्फ्यू आदिलाई क्रमशः हटाउँदै जाने, संक्रमण देखिएको स्थानमा मात्र सिल गरी कोभिड-१९ को चेन ब्रेक गर्ने र कोभिड-१९ नियन्त्रण, रोकथाम र उपचारमा प्रदेश सरकार, स्थानीय तह एवं स्थानीय प्रशासनसँग समन्वयात्मक रुपमा अगाडि बढ्ने नीति लिएको छ ।
बैठकले भारतबाट स्थलमार्ग हुँदै आउने नेपालीहरुका लागि तोकिएको प्रवेश विन्दुका अतिरिक्त पशुपतिनगर इलाम, रंगेली मोरङ्ग, टांगनडुवा झापा, गौरीगन्ज झापा र भन्टावारी सुनसरीलाई थप प्रवेश विन्दु (नाका) कायम गर्ने निर्णय समेत गरेको छ।
भोजपुर नगरपालिका-६ स्थित देउरालीमा रहेको शैक्षिक तालिम केन्द्रको भवनमा २५ बेडको आइसोलेसन वार्ड सञ्चालन एवं उदयपुरको नेत्र ज्योति संघद्धारा निर्माण गरिएको मदन भण्डारी आँखा अस्पतालमा आइसोलेसन वार्ड स्थापना गर्न उदयपुर अस्पताल, उदयपुरलाई अनुमति समेत बैठकले दिएको छ।
बैठकले कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारका लागि विशेष सचेतना अभियान, २०७७ लाई स्वीकृत गर्ने र कार्यान्वयनको जिम्मेवारी सामाजिक विकास मन्त्रालयलाई प्रदान गर्ने निर्णय गरेको छ। तत्कालका लागि यो अभियान झापा, मोरङ र सुनसरी जिल्लामा लागू हुनेछ।











