महामारी र प्राकृतिक विपदविरुद्ध प्रभावकारी भूमिका निर्वाह गर्न सरकारलाई नेकपाको ध्यानाकर्षण

काठमाडौं, भदौ १८ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि थप प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ।
बिहीबार बालुवाटारमा बसेको सचिवालय बैठकले कोरोना संक्रमणका साथै मृत्युदर पनि बढ्दै गएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि थप प्रभावकारी हुन सरकारको ध्यानाकर्षण गराएको हो। महामारीविरुद्ध एकतावद्ध भएर लड्न सचिवालयले सबैलाई आग्रह गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
यस्तै, बैठकले बागलुङस्थित ढोरपाटनको पहिरोमा पुरिएर ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उद्धार तथा राहतमा कुनै पनि कमी हुन नदिन सरकारको ध्यानाकर्षण गराएको छ।
“कोरोना महामारी तथा प्राकृतिक विपदविरुद्ध प्रभावकारी रुपमा कार्यसम्पदान गर्न बैठकले सरकारको ध्यानाकर्षण गराएको छ,’’ प्रवक्ता श्रेष्ठले भने।
बैठकले पार्टीका सम्पूर्ण पंक्तिलाई प्राकृतिक प्रकोप भएका स्थानमा उद्धार तथा राहतमा खटिनका लागि निर्देशन समेत दिएको छ।











