निषेधाज्ञा खुकुलो बनाएको भन्दै उपत्यका नगरपालिका फोरम प्रशासनसँग असन्तुष्ट
काठमाडौं, भदौ १८ : निषेधाज्ञा खुकुलो बनाउने प्रशासनको निर्णय प्रति उपत्यका नगरपालिका फोरम असन्तुष्ट बनेको छ। बुधबार साँझ काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख...
काठमाडौं, भदौ १८ : निषेधाज्ञा खुकुलो बनाउने प्रशासनको निर्णय प्रति उपत्यका नगरपालिका फोरम असन्तुष्ट बनेको छ। बुधबार साँझ काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा केही खुकुलो गरी पुनः एकहप्ता थप गरेको आदेशप्रति उपत्यका नगरपालिका फोरमले असन्तुष्ट जनाएको हो।
तीन वटै जिल्ला प्रशासनले भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी जारी गरेको निषेधाज्ञाप्रति असन्तुष्टि व्यक्त गर्दै नगरपालिका फोरमले विज्ञप्ति जारी गरेको छ ।
तीन वटै जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तिमा उपत्यका भित्र विकास निर्माणसँग सम्वन्धित पसल–व्यवसाय साथै सोको ढुवानीका लागि प्रयोग गर्ने सवारी साधन दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन गर्न सकिने तर, नेपाल सरकारले तोकेको स्वास्थ्य सम्वन्धि मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ। नगरपालिका फोरमले सबै भन्दा बढी असन्तुष्टि यहि बुँदामा रहेको विज्ञप्तिमार्फत जनाएको छ।
‘यहि भदौ १८ गतेदेखि लागु हुनेगरी थपिएको निषेधाज्ञामा दिउँसो दुई बजेदेखि साँझ ९ बजेसम्म विकास निर्माणका पसल–व्यवसाय सञ्चालन गर्न सकिने बुँदामा गम्भीर ध्यानाकर्षण भएको छ,’ उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ,’ ‘यसले गर्दा निषेधाज्ञाको खासै अर्थ र उपादेयता नरहने तथ्यलाई ध्यानमा राखी अतिआवश्यक बस्तु र सेवालाई बिहान ११ बजेसम्म मात्र खोल्न सकिनेसम्मलाई कायम राख्दै अन्य समयमा पसल–व्यवसाय सञ्चालनमा रोक लगाउने गरी अविलम्ब निषेधाज्ञा आदेश सुधार गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गरिन्छ।’
मेयर श्रेष्ठले काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमण तथा मृत्युदर समेत तीब्ररुपमा बढिरहेको सन्दर्भमा उपत्यकालाई भयावह स्थितिबाट जोगाउन कडा रुपमा निषेधाज्ञा आवश्यक रहेको उपत्यका नगरपालिका फोरमको ठहर रहेको पनि जानकारी दिए। ‘वर्तमान विषम परिस्थितिलाई ध्यानमा राखी उपत्यकाका स्थानीय तहबाट प्रवाह गरिदैँ आएका अत्यावश्यक बाहेकका सेवा–प्रवाह भदौ २४ सम्म बन्द रहने पनि यसै विज्ञप्तिमार्फत जानकारी गराउँछौँ,’ विज्ञप्तिमा भनिएको छ।











