बागलुङ बाढी : आठ जनाको मृत्यु, अझै १३ बेपत्ता (अपडेट)
बागलुङ, भदौ १८ : बागलुङको ढोरपाटन नगरपालिका–९ र आसपासका क्षेत्रमा गएराति आएको बाढी र पहिरोमा परी आठ जनाको मृत्यु भएको छ भने अझै...
बागलुङ, भदौ १८ : बागलुङको ढोरपाटन नगरपालिका–९ र आसपासका क्षेत्रमा गएराति आएको बाढी र पहिरोमा परी आठ जनाको मृत्यु भएको छ भने अझै १३ जना बेपत्ता रहेका छन्।
गएराति राति १२ बजेतिर देउराली र सुपुरदुङ क्षेत्रमा खसेको पहिरोमा १५ घर पुरिएका छन्। बाढीले कटान गरेपछि सडकसमेत क्षतविक्षत भएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ।
स्थानीय वासिन्दा र प्रहरीको टोली आज बिहानैदेखि उद्धार सुरु गरेको छ। घटनास्थल पुगेका बुर्तिवाङ इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर प्रकाशसिंह भण्डारीका अनुसार आ७ जनाको शव भेटिएको छ। शवको सनाखत हुन सकेको छैन।
बाढी र पहिरोमा परि ढोरपाटन नगरपालिका–९ की ३५ वर्षीया कौशिला पुन, उनका छोरा ६ वर्षीय हिक्मत, सोही ठाउँका ३५ वर्षीय जीतबहादुर घर्ती, ४० वर्षीय राजु घर्ती, ३० वर्षीया कुमारी विक र १९ वर्षीया पुतली विक बेपत्ता भएका छन्।
त्यस्तै, ३२ वर्षीया करमती घर्तीमगर, ३५ वर्षीया रीना घर्तीमगर, ३५ वर्षीया दिलमाया घर्तीमगर र उनका ६ वर्षीय छोरा, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नवीन भण्डारी पनि बेपत्ता रहेको इन्स्पेक्टर भण्डारीले बताए।
बेपत्ताको खोजीका लागि नेपाल प्रहरीसँगै र नेपाली सेनाको टोली पनि घटनास्थल पुगेको छ। खोजी भइरहेको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए।











