Kathmandu Press

रेलमार्गको ठेक्का हचुवाका भरमा दिइयो, छानविन होस् : नेता पौडेल 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रेलमार्ग निर्माणको ठेक्का हचुवाका भरमा दिइएको बताएका छन्। 
रेलमार्गको ठेक्का हचुवाका भरमा दिइयो, छानविन होस् : नेता पौडेल 

काठमाडौं, भदौ १७ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रेलमार्ग निर्माणको ठेक्का हचुवाका भरमा दिइएको बताएका छन्। 

बुधबार विज्ञप्ति जारी गरी पौडेलले बिना प्रतिस्पर्धा ठेक्का दिइएको भन्दै छानविन गर्न माग समेत गरेका छन्।

‘काकडभिट्टा–इनरुवा रेल मार्ग निर्माणमा सार्वजनिक रूपमै विभिन्न कुराहरु बाहिर आएका छन्। परियोजना निर्माणस्थलको धरातल प्रष्ट नभई सार्वजनिक खरिद ऐन ८, ९, १० र १५ तथा खरिद नियमावली (६) विपरीत रेलमार्ग निर्माणका लागि खुला प्रतिस्पर्धाबिना निश्चित ठेकेदारलाई पोस्ने गरी हचुवाका भरमा ठेक्का दिनु गलत छ,’ उनले भनेका छन्, ‘राष्ट्रिय ढुकुटीबाट रेलमार्ग निर्माणका नाममा ३५ अर्ब रूपैयाँ हचुवाका भरमा खर्च गर्नु अनुचित छ।  रेलमार्गमा पर्ने बजारको व्यवस्थापन र उक्त क्षेत्रमा जनताले उपभोग गर्दै आएको जग्गाको मुआब्जा वितरण समेत नगरी रेलमार्ग निर्माणको प्रक्रिया थाल्नु सर्वथा गलत छ।’ 

उनले रेलमार्ग निर्माणको जिम्मा निश्चित ठेकेदारलाई मात्रै योग्य बनाएर हचुवाका भरमा दिनुले सरकारले नीतिगत तथा संस्थागत भ्रष्टाचारलाई प्रोत्साहन गरेको प्रष्ट भएको बताएका छन्। 

‘आवश्यक गृहकार्य र तयारी बिना ठेक्कापट्टाको हतारो गर्नु अनुचित हो। राष्ट्रिय ढुकुटीको ब्रम्हलुट गर्नबाट जोगाउन तत्काल रेलमार्गको ठेक्कापट्टा रोकेर त्यसबारे छानविन गर्न संसदीय लेखा समिति, विकास समिति, सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत न्यायिक निकायको जोडदार ध्यानाकर्षण गराउँछु,’ विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित मिति: १६:३९ बजे, बुधबार, भदौ १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्