पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ।
काठमाडौं, भदौ १७ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको जानकारी दिए।
उनका अनुसार कोरोना संक्रमणबाट चितवन ५५ र १८, काठमाडौं ८९, ललितपुर ७० , तनहुँ २० र कपिलवस्तुको ६० वर्षीया महिला, बाराका ९७, चितवन ६५, भक्तपुर ४०, काठमाडौं ७० र ७५ वर्षीय तथा धादिङका ४७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २५१ पुगेको छ।
यस्तै, बुधबार नेपालमा थप ११२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रवक्ता डा. गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म २३ हजार २९० जना निको भएर घर फर्किएका छन्।
प्रवक्ता गौतमका अनुसार बुधबारमात्रै कोरोनालाई जितेर १११२ जना घर फर्किएका छन्।











