पाटन अस्पतालमा आमा बितेको चार दिनपछि छोराको पनि कोरोनाबाट मृत्यु
ललितपुर, भदौ १७ : पाटन अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट आमाको मृत्यु भएको चार दिनपछि छोराको पनि मृत्यु भएको छ।गएराति भक्तपुरको मध्यपुर थिमि नगरपालिका...
ललितपुर, भदौ १७ : पाटन अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट आमाको मृत्यु भएको चार दिनपछि छोराको पनि मृत्यु भएको छ।
गएराति भक्तपुरको मध्यपुर थिमि नगरपालिका ७ नगदेशका ४० वर्षीयको कोरोनाबाट मृत्यु भएको छ। उनको उचपारका क्रममै गएराति मृत्यु भएको अस्पतालले जनाएको छ।
उनको परिवारको ६ जनामा कोरोना संक्रमण देखिएको थियो। उनलाई र उनकी ६२ वर्षीया आमालाई लक्षण देखिएपछि भदौ २ गते पाटन अस्पताल भर्ना भएका थिए।
पाटन अस्पतालमा उपचारका क्रममै भदौ १३ गते उनकी आमाको मृत्यु भएको मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठले बताए।
उनकी आमालाई दमको समस्या थियो। उनलाई भने कुनै समस्या नरहेको मेयर श्रेष्ठले बताए।
आमाको मृत्यु भएको खबर पाएपछि उनी झन चिन्तित बनेका थिए। दुई दिनयता उनलाई पनि श्वासप्रश्वासमा समस्या भएको अस्पतालले जनाएको छ।
कोरोना संक्रमण देखिएका उनका परिवारका अन्य सदस्य भने घरमै छन्। उनीहरुलाई लक्षण नभएकाले होम आइसोलेसनमा बसिरहेको मेयर श्रेष्ठले बताए।











