Kathmandu Press

सभामुखको पहलमा लिदीका अभिभावक गुमाएका बालबालिकालाई संरक्षण र शिक्षा

काठमाडौं, भदौ १७ : सभामुख अग्निप्रसाद सापकोटाको पहलमा लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण, शिक्षा र बसोबासको व्यवस्था हुने भएको छ।सभामुखको आग्रहमा एसओएस...
सभामुखको पहलमा लिदीका अभिभावक गुमाएका बालबालिकालाई संरक्षण र शिक्षा

काठमाडौं, भदौ १७ : सभामुख अग्निप्रसाद सापकोटाको पहलमा लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण, शिक्षा र बसोबासको व्यवस्था हुने भएको छ।

सभामुखको आग्रहमा एसओएस बालग्राम काभ्रे पनौतीका निर्देशक सुरेन्द्र अमगाईँसहितको टोली मंगलबार सिन्धुपाल्चोकको बाँसखर्क पुगेर वडाध्यक्ष प्रताप लामासँग समन्वय गरी बालबालिकाको जानकारी लिएको थियो। एसओएसले हिजैदेखि बालबालिकाको शिक्षा र संरक्षणका लागि आवश्यक प्रक्रिया थालेको छ।

लिदीका अभिभावक गुमाएका १२ वर्षमुनिका पाँच बालबालिकालाई तत्काल काभ्रेको पनौतीस्थित एसओएस बालग्राम ल्याएर पठनपाठन शुरु गर्ने निर्देशक अमगाईँले जानकारी दिए। त्यसका लागि जिल्ला प्रशासन कार्यालयसँग अनुमतिपत्र लिनेलगायतका विषयमा हिजो नै छलफल भएको छ।

बाँकी १२ वर्षमाथिका सात बालबालिकाको शिक्षा र संरक्षणका लागि बसोबासस्थलमै संरक्षकमार्फत सहयोग गरिने अमगाईँले जानकारी दिए। उनीहरुका लागि अस्थायी बसोबासस्थलमै शिक्षा र सहयोेग हुने उनको भनाइ छ। यही भदौ १० गते सभामुख सापकोटाले लिदीबाट अस्थायी स्थानान्तरण भएर जुगल गाउँपालिकाको बाँसखर्कमा आएका विस्थापितसँगको छलफलमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाको आफूले जिम्मेवारी लिने बताएका थिए।

त्यसलगत्तै काठमाडौँ फर्केर सभामुख सापकोटाले एसओएस बालग्रामका अधिकारीहरुसँग छलफल गरी पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई संरक्षण र शिक्षाको प्रबन्ध मिलाइदिन आग्रह गरेका थिए। गत साउन ३० गते बिहान जुगल गाउँपालिकाको लिदीमा गएको भीषण पहिरोमा परी ३७ घर पुरिँदा घरसँगै पुरिएर बेपत्ता भएका ३७ जनाको शव फेला परेको छ भने दुई अझै बेपत्ता छन्। पहिरोले बस्ती नै जोखिममा परेपछि लिदीबासीलाई हाल बाँसखर्कमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ।

लिदी पहिरोपीडितलाई नौ लाख सहयोग

गैरआवासीय नेपाली संघ र सिन्धु सोसाइटी अमेरिकाले लिदी पहिरोपीडितका लागि सहयोग गरेका छन्। मंगलबार गैरआवासीय नेपाली संघका तर्फबाट पाँच लाख रुपैयाँ र सिन्धु सोसाइटीको तर्फबाट चार लाख रुपैयाँ गरी नौ लाख रुपैयाँ जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ र वडाध्यक्ष प्रताप लामालाई सहयोग हस्तान्तरण गरिएको सिन्धु सोसाइटीका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए।

गैरआवासीय नेपाली संघका तर्फबाट केन्द्रीय उपाध्यक्ष सोनाम तामाङ र सिन्धु सोसाइटीका स्थानीय प्रतिनिधि छेवाङ शेर्पाले सो रकम हस्तान्तरण गरेको हो। पहिरोले ३९ घरमा पूर्णरूपमा क्षति पुर्याएको थियो। पहिरोपीडितलाई अहिले सुरक्षित स्थानमा सारिएको छ।

प्रकाशित मिति: ११:०१ बजे, बुधबार, भदौ १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्