भैरहवा र वीरगन्जमा कोरोनाबाट दुई जनाको मृत्यु
भैरहवा, भदौ १७ : रुपन्देहीको भैरहवा र पर्साको वीरगन्जमा उपचाररत दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।गएराति ९ः४५ बजे भैरहवाको भीम अस्पतालमा...
भैरहवा, भदौ १७ : रुपन्देहीको भैरहवा र पर्साको वीरगन्जमा उपचाररत दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
गएराति ९ः४५ बजे भैरहवाको भीम अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको मृत्यु भएको हो। अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलका अनुसार नवलपरासी पश्चिमको रामग्राम–५ की बृद्धालाई मधुमेह, उच्च रक्तचाप र श्वासप्रश्वासमा समस्या आएको थियो।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल आईसीयू बेड खाली नभएपछि उनलाई भदौ १५ गते भीम अस्पतालमा रिफर गरिएको थियो।
त्यस्तै, वीरगन्जको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचाररत बाराको सिम्रौनगढ नगरपालिका–९ बसबरियाटोलका ९७ वर्षीय वृद्धको गएराति मृत्यु भएकोछ। अस्पालका संयोजक डा.उदय नारायण सिंहका अनुसार मुटु र दमको समस्या रहेका बृद्धको मंगलबार राति १ बजे मृत्यु भएको हो।
उनीलाई भदौ १४ गते कोरोना पोजिटिभ देखिएपछि अस्पताल भर्ना भएका थिए। उनी मुटु, दम र उच्च रक्तचापबाट पीडित थिए। उनलाई कोरोना लक्षण पनि देखिएका थिए।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई सय ४१ पुगेको छ। त्यस्तै, कोरोना संक्रमितको संख्या ४० हजार पाँच सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।











