समयमै उपचार नपाउँदा चितवनमा तीन जना कोरोना सङ्क्रमितको मृत्यु
काठमाडौं, भदौं १६ : चितवन जिल्लाका अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको छ । जिल्लाका मेडिकल कलेज र...
काठमाडौं, भदौं १६ : चितवन जिल्लाका अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको छ । जिल्लाका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी अस्पताल पठाएका उनीहरुको अस्पताल पुगेको केही समयमै मृत्यु भएको हो ।
भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मृत्युपछि स्वाब सङ्कलन गरिएका उनीहरु तीनै जनामा कोरोना सङ्क्रमण देखिएको हो । उनीहरुको राति अबेर नतिजा आएको थियो । भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीका अनुसार मृत्यु भएका तीनै जनामा कडा निमोनिया देखिएको थियो । बिहान ७ बजे अस्पताल ल्याइ पुर्याएकी खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको दिउँसो १ बजे आकस्मिक कक्षमै मृत्यु भएको हो । दुवै मेडिकल कलेज पुर्याए पनि भर्ना नलिएपछि ती महिलालाई भरतपुर अस्पताल ल्याइएको उनका आफन्तले बताएको तिवारीले जानकारी दिए ।
त्यस्तै भरतपुर–११ का ६५ वर्षीय पुरुषको चितवन अस्पतालमा एक्सरे गरेपछि भरतपुर अस्पताल पठाइएको थियो । दिउँसो २ः३० बजे भरतपुर अस्पतालको आकस्मिक कक्षमा आइपुगेका उनको ३ बजे मृत्यु भएको तिवारीले बताए ।
भरतपुर–११ कै अर्का एक १८ वर्षकी युवती सबै परीक्षणपछि नारायणी सामुदायिक अस्पतालले भरतपुर अस्पताल पठाएको थियो । तिवारीका अनुसार दिउँसो १ बजेतिर भरतपुर अस्पताल ल्याएकामा उनको ३ बजे मृत्यु भएको हो । गम्भीर बिरामी सामुदायिक अस्पतालमा सिटिस्क्यानदेखि सबै परीक्षण गरेर सघन उपचार कक्ष खाली नभएको भन्दै बिरामीका आफन्तले मेकिडल कलेजमा लगेको भए पनि सघन उपचार कक्ष नभएको भनेर फिर्ता गरेपछि सरकारी अस्पताल आइपुगेको तिवारी बताउछन् ।
तिवारीले भने, “हाम्रो सघन उपचार कक्ष खाली छैन । खाली हुनेले जहाँ खाली छ त्यहाँ उपचार गरिदिनुपर्यो ।” भरतपुर अस्पतालका २० वटा सघन उपचार कक्ष सबै बिरामीले भरिएको छ । आइतबार राति पनि एक जना बिरामीलाई यहाँका अस्पताल डुलाउँदा डुलाउँदै कसैले भर्ना नलिएपछि बिहान मृत्यु भएको थियो । चिकित्सक सङ्घ चितवनका पूर्वअध्यक्ष प्रा डा कृष्ण पौडेल अहिले अस्पतालहरुले भर्ना नलिँदा बिारमीले उपचार नपाएको स्वीकार गर्नुहुन्छ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीका अनुसार जिल्लामा ५० शय्यामाथिका १९ वटा अस्पताल छन् । दुई ठूला मेडिकल कलेजसहित सबै अस्पतालमा गरेर १७६ सघन उपचार कक्ष र ५० भेन्टिलेटर शय्या छन् । आइसोलेसन शय्या सङ्ख्या झण्डै ३०० रहेका छन् । केही एनआइसीयू र पीआइसीयू छन् । (रासस)











