अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ६० लाख माथि

काठमाडौं, भदौं १६ : अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ६० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्कका आधारमा त्यो विश्वभर पुष्टि भएका कुल सङ्क्रमितको सङ्ख्यामा झण्डै एक चौथाइ हो।
अमेरिकामा दश लाख सङ्क्रमित एक महिनाभन्दा कम समयमा थपिएको विवरणहरूमा देखिन्छ। पछिल्ला दिनमा दैनिक वृद्धिका घटना घट्दोक्रममा देखिए पनि अमेरिका सङ्क्रमित र मृत्यु दुवैतर्फ विश्वको सबैभन्दा धेरै प्रभावित देशको रूपमा छ।
२१ ज्यानुअरीमा पहिलो सङ्क्रमण पुष्टि भएको अमेरिकामा अहिलेसम्म एक लाख ८३ हजारभन्दा बढीको भाइरस जोडिएका घटनामा मृत्यु भएको छ। सङ्क्रमितको दश लाख सङ्ख्या २८ एप्रिल अर्थात् ९९ दिनमै पुगेको थियो।
र त्यसको ४३ दिनपछि सङ्क्रमितको सङ्ख्या दोबर भएको थियो। ३० लाख सङ्क्रमित अर्को २८ दिनमा पुगेका थिए। त्यसपछिको अर्को १५ दिनमा त्यो ४० लाख पुगेको थियो।
त्यसको १६ दिनमा पचास लाख र अर्को २२ दिनमा सङ्क्रमण ६० लाखभन्दा बढीमा पुष्टि भयो। (बीबीसी)











