बहराइनका राजकुमारलाई हिमाल आरोहणको अनुमति दिने सरकारको निर्णय
काठमाडौं, भदौ १५ : सरकारले बहराइनका राजकुमारसहित १५ जना बहराइनका नागरिक र तीन जना बेलायती नागरिकलाई हिमाल आरोहणको अनुमति दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्...
काठमाडौं, भदौ १५ : सरकारले बहराइनका राजकुमारसहित १५ जना बहराइनका नागरिक र तीन जना बेलायती नागरिकलाई हिमाल आरोहणको अनुमति दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सोमबार सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बहराइनका राजकुमारसहित १५ जना बहराइनका नागरिक र तीन जना बेलायती गरी १८ जनाको टोलीलाई भदौ ३० गतेपछि लोबुचे र मनास्लु हिमाल आरोहणको अनुमति दिइएको जानकारी दिए।
‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने गरी बहराइन र बेलायती टोलीलाई विशेष विमान (चार्टर फ्लाइट)बाट नेपाल आउन अनुमति दिइएको छ,’उनले भने।
यस्तै, बैठकले संयुक्त राष्ट्रसंघको ७५ औँ महासभामा अप्रत्यक्षरुपमा १० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौंबाटै प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको उनले बताए।
सरकारले श्रम गन्तव्य मुलुकसँगको सम्झौता र मागका आधारमा नयाँ श्रम स्वीकृति खुला गर्ने तथा सहसचिवद्वय नवराज ढकाल र उदयबहादुर रानामगरलाई क्रमशः ल्हासा र हङकङमा नेपाली महावाणिज्यदूतमा नियुक्त गर्ने निर्णय गरेको उनले जानकारी दिए।
यसैगरी, नेपाली सेनाका सहायक रथी विनयविक्रम राणालाई उपरथीमा बढुवा गरिएको छ भने सहायक रथी अरुणकुमार पालको राजीनमा स्वीकृत भएको छ।











