यही रफ्तारमा कोरोना बढे राज्यको स्रोतसाधनले थेग्दैन: स्वास्थ्य मन्त्रालय
कोरोना संक्रमण यही रफ्तारमा बढे स्रोतसाधनले नपुग्ने भन्दै सरकारले सजग हुन आग्रह गरेको छ।
काठमाडौं, भदौ १५ : कोरोना संक्रमण यही रफ्तारमा बढे स्रोतसाधनले नपुग्ने भन्दै सरकारले सजग हुन आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यही रफ्तारमा कोरोना संक्रमण बढे अस्पताल, आईसीयू र भेन्टिलेटरको अभाव हुन सक्ने बताए। उनले सुविधा सम्पन्न देशमा समेत स्रोत साधनको अभाव देखिएको बताउँदै उनले संक्रमण बढ्न नदिने विषयमा सबैले सोच्नुपर्ने बेला आएको बताए।
'हरेक व्यक्तिले संक्रमण फैलन नदिने विषयमा सोच्न थालौं। घर-घरमा बच्ने उपायबारेमा सोचौं। कसैलाई भइहालेमा कसरी व्यवस्थापन गर्ने भन्नेबारे पूर्वतयारी गरौं,'उनले भने,'संक्रमण हुँदैमा आत्तिनु हुँदैन। संक्रमित हुँदैमा अस्पताल जानै पर्छ भन्ने छैन। अस्पताल बढी जोखिम भएका व्यक्तिलाई उपचार गर्ने सुरक्षित स्थान बनाऔं।'
उनले घरमै बस्न र बाहिर निस्कनु पर्ने अवस्था आएमा सुरक्षाका उपाय अपनाउन आग्रह समेत गरेका छन्।











