कोरोना कहरमा मुलुक : डिस्चार्ज हुने दर घट्दै, मृत्युदर बढ्दै
एक महिनाको तथ्यांक हेर्दा संक्रमण र मृत्युदर बढ्दा कोरोना निको हुनेको संख्या भने घटेको छ।काठमाडौ, भदौ १५ : कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले प्रभावकारी नीति लिन नसक्दा पछिल्लो समय कोरोनाबाट निको हुने दर घट्नुका साथै मृत्युदर ह्वात्तै बढेको छ।
एक महिनाको तथ्यांक हेर्दा संक्रमण र मृत्युदर बढ्दा कोरोना निको हुनेको संख्या भने घटेको छ। साउन १५ देखि भदौ १४ गतेसम्मको तथ्यांक केलाउँदा डिस्चार्ज हुने दर ७२ प्रतिशतबाट घटेर ५४ प्रतिशतमा झरेको छ। साउन १५ गते संक्रमणमुक्त भएर निको हुने ७७.८ प्रतिशत थिए।
आइतबार (भदौ १४ गते) सम्मको तथ्यांक अनुसार डिस्चार्ज हुने दर ५४ प्रतिशतमा झरेको छ। भदौ १४ गतेसम्म ३८ हजार ५ सय ६१ जनामा संक्रमण पुष्टि भएकोमा २० हजार ८ सय २२ जना डिस्चार्ज भएका छन् भने सक्रिय संक्रमित अझै १७ हजार ७ सय ३९ जना छन्। कुल संक्रमतिको झण्डै आधा संक्रिय संक्रमित हुनु नराम्रो अवस्था हो।
स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्दा एक महिनाको अवधिमा संक्रमणको ग्राफ उकालो लागेको देखिन्छ। पछिल्लो एक महिनामा १९ हजार १४ जना संक्रमित थपिएका छन्, जुन कुल संक्रमतिको झण्डै आधा हो।
गत साउन १५ गते मुलुकभर कोरोना संक्रमितको संख्या १९ हजार ५ सय ४७ थियो। तर, भदौ १४ सम्म आइपुग्दा यो संख्या बढेर ३८ हजार ५ सय ६१ पुगेको छ। पछिल्ला केही दिनमा दिनहुँ करिब १ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइरहेको छ। काठमाडौं उपत्यका, पर्सा, मोरङ, चितवन लगायतका ठाउँमा संक्रमण तीव्र रुपमा फैलिरहेको छ।
युवा संक्रमित धेरै
मुलुकभर सबैभन्दा बढी २१ वर्षदेखि ३० वर्ष उमेर समूहका व्यक्तिमा संक्रमण देखिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार युवाहरुमा धेरै संक्रमण पुष्टि भएको छ। मन्त्रालयको बेवसाइटमा राखिएको तथ्यांक अनुसार एक महिनामा १० वर्षमुनिका ३ सय ५५ पुरुष र २ सय ६९ महिला गरी ६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
११ वर्षदेखि २० वर्ष उमेरका समूहका ८ सय ६९ पुरुष र ४ सय ६२ महिला गरी १ हजार ३ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ। २१ देखि ३० वर्ष उमेर समूहका ४ हजार ५९ पुरूष र १७ सय १८ महिला गरी ५ हजार ७ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
३१ देखि ४० वर्ष उमेर समूहका ३८ सय ३ पुरूष र ११ सय ६६ महिला गरी ४ हजार ९ सय ६९ जनामा संक्रमण भएको मन्त्रालयको तथ्यांकले देखाएको छ। ४१ देखि ५० वर्ष उमेर समूहका २ हजार ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्ये २ हजार ११६ पुरूष र ७६९ महिला छन्।
५१ देखि ६० वर्ष उमेर समूहका १ हजार ७५६ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये १ हजार २७३ पुरूष र ४८३ महिला छन्। ६१ देखि ७० वर्ष उमेर समूहका ५२५ पुरुष र २५४ महिला गरी ७७९ जनामा कोरोना संक्रमण देखिएको छ।
७१ देखिएका ८० वर्ष उमेर समूहका २०२ पुरुष र १६७ जना महिला गरी ३६९ जनालाई संक्रमण पुष्टि भएको छ भने ८० वर्षमाथिको उमेर समूहका ६६ पुरुष र ४१ महिला गरी १०७ जनामा संक्रमण पुष्टि भएको छ।