काठमाडौं उपत्यका वरिपरि पाँच लाख पर्यटक अट्ने पूर्वाधार तयार गर्न पर्यटनमन्त्रीको निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले काठमाडौं उपत्यका वरिपरि पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार...
काठमाडौं, भदौ १५ : संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले काठमाडौं उपत्यका वरिपरि पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन्।
मन्त्रालयमा सोमबार नेपाल पर्यटन बोर्डका निर्देशकहरुसँगको छलफलमा मन्त्री भट्टराईले सार्वजनिक बिदाको दिनमा उपत्यका वरिपरि पाँच लाख पर्यटक अट्ने गरी पर्यटन पूर्वाधार पदमार्ग, साईकलिङ, ट्रेल पर्यटन उपजको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिएका हुन्।
उनले प्रदेश स्तरमा प्रदेश सरकारसँग समन्वय गरी पर्यटन बोर्डको शाखा चाँडो गठन गर्न समेत निर्देशन दिए। मन्त्री भट्टराईले पर्यटन बोर्डलाई सात वटा भाषा नेपाली, हिन्दी, चाइनिज, अरबी, पोर्चुगल र स्पेनिस भाषामा डिजिटल सामग्री तयार गर्न आग्रह गरे।
मन्त्री भट्टराईले अनावश्यक खर्च कटौती गरी आर्थिक मितब्ययिता कायम गर्न निर्देशन दिए। विदेश तथा स्वदेशमा हुने भ्रमण खर्चमा कटौती गर्न पनि मन्त्री भट्टराईले निर्देशन दिए। उनले पर्यटन बोर्डका पदाधिकारीहरुलाई कोभिड १९ को महामारीको समयमा भर्चुअल टुरका प्याकेज बनाउन आग्रह गर्दै विश्व सम्पदा, हिमाल, टेकिङ सिमसार, म्युजियम निकुञ्ज लगायतका भर्चुअल टुरको सामग्री तयार गर्न निर्देशन दिए।
कोभिड–१९ ले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेका भन्दै मन्त्री भट्टराईले कोभिडपछि पर्यटन उत्थानका लागि के के गर्न सकिन्छ त्यसको आवश्यक योजना बनाउन समेत आग्रह गरे। मन्त्री भट्टराई नेपालमा स्वास्थ्य, शिक्षा, खेलकुद पर्यटनको सम्भावनाबारेमा अध्ययन अनुसन्धान गर्न आग्रह गरे।











