अर्थमन्त्री खतिवडाको पदको आयु नेकपा सचिवालयको निर्णयमा निर्भर
अर्थमन्त्री डा. युवराज खतिवडाको निरन्तरताको विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले निर्णय गर्ने भएको छ।
काठमाडौं, भदौ १५ : अर्थमन्त्री डा. युवराज खतिवडाको निरन्तरताको विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले निर्णय गर्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली उनलाई निरन्तरता दिने पक्षमा रहेपनि नियुक्तिका सवालमा सामूहिक निर्णय हुनुपर्ने कार्यदलको सिफारिस भएकाले त्यसबारे भदौ १८ गतेको सचिवालय बैठकमा छलफल हुने भएको हो।
कार्यदलको सुझावको बुँदा नम्बर ९ (२) मा भनिएको छ -'सचिवालयको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था, कानूनी प्रबन्ध र निश्चित मापदण्डका आधारमा संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन र राजनीतिक नियुक्ति सम्बन्धी निर्णय गर्ने।'
कार्यदलको यही सुझावका आधारमा मन्त्रिपरिषद् हेरफेर लगायत अन्य विषयमा भदौ १८ गते बस्ने सचिवालय बैठकमा छलफल हुने सचिवालय सदस्य वरिष्ठ नेता झलनाथ खनालले बताए।
'मन्त्रिपरिषद् हेरफेर लगायत अन्य विषयमा १८ गते बस्ने सचिवालयको बैठकमा छलफल हुनेछ। कसले निरन्तरता पाउने नपाउने भन्ने विषयको सामूहिक निर्णय हुन्छ,' खनालले भने।
संवैधानिक व्यवस्था अनुसार उनलाई मन्त्रीमा निरन्तरता दिन भदौ २१ गते अगावै राष्ट्रियसभा सदस्यमा नियुक्त गरिसक्नु पर्नेछ। गत फागुन २० गते खतिवडाको दुई वर्षे कार्यकाल सकिएको थियो। तर, ६ महिनासम्म सांसद नभएपनि मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था अनुरूप उनी मन्त्री पदमा बहाल छन्।
संविधानको धारा ७८ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको सदस्य नभएको कुनै पनि व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने प्रावधान छ। त्यसरी बनेका मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसदको सदस्य बन्न नसके स्वतः पदमुक्त हुने व्यवस्था छ।
राष्ट्रियसभा सदस्यको दुई वर्षको कार्यकाल समाप्त भएपछि खतिवडा गत फागुन २० गते पदमुक्त भएका थिए। तर, संविधानको धारा ७८ अनुसार नै पदमुक्त भएको २४ घन्टा नपुग्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना तथा प्रविधि मन्त्रीको थप जिम्मेवारीसहित फागुन २१ गते पुन: नियुक्त गरेका थिए।
खतिवडाको मन्त्री पद कायमै राख्न भदौ २१ गते अगावै राष्ट्रियसभा सदस्य नियुक्ति गर्नु पर्नेछ।
ओली सकभर खतिवडालाई नै निरन्तरता दिने पक्षमा छन्। प्रधानमन्त्रीको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई बजेटमार्फत सम्बोधन गर्न खतिवडाले राम्रो भूमिका निर्वाह गरेको ओलीको बुझाइ छ।
नेकपाभित्रै खतिवडालाई निरन्तरता दिन नहुने आवाज उठिरहेको छ। उनले ल्याएको बजेटका कारण सरकार झन् अलोकप्रिय बनेको आरोप नेताहरुले लगाउँदै आएका छन्। नेकपाका नेताहरुले संसदीय समितिदेखि प्रधानमन्त्री ओली समेतलाई भेटेर मन्त्री खतिवडाको आलोचना गरिसकेका छन्।
तर, ओलीले भने खतिवडाको बचाउ गरेका छन्। 'उहाँले राम्रो काम गरिरहनुभएको छ। कसै-कसैलाई शैली मन नपर्न सक्छ,'' एक टेलिभिनज अन्तर्वार्तामा ओलीले भनेका छन्।
ओलीले मुलुकको अर्थतन्त्र बुझेको र हालका संकटबाट पार लगाउन खतिवडाले मात्रै सक्ने विश्वास राखेका कारण उनको निरन्तरता हुन सक्ने बहस पनि नेकपाभित्र छ।
खतिवडाको निरन्तरता वा बहिर्गमनको निर्क्यौल सचिवालय बैठकमार्फत हुने नेताहरुको भनाइ छ।











