Kathmandu Press

प्रहरी हिरासतमा बालकको मृत्यु प्रकरण: छानविन गर्न समिति गठन

झापा, वैशाख ७ : झापाको अनारमनी इलाका प्रहरी कार्यालयमा १५ वर्षीय बालकको मृत्यु रहस्यमय भएपछि छानविन समिति गठन गरिएको छ। छानविनका....

प्रहरी हिरासतमा बालकको मृत्यु प्रकरण: छानविन गर्न समिति गठन

झापा, वैशाख ७ : झापाको अनारमनी इलाका प्रहरी कार्यालयमा १५ वर्षीय बालकको मृत्यु रहस्यमय भएपछि छानविन समिति गठन गरिएको छ। छानविनका लागि झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको संयोजक तीन सदस्यीय समिति गठन गरिएको हो।

 प्रहरी निरीक्षक कमल अधिकारी र प्रहरी सहायक निरीरक्षक नवराज थापा सदस्य रहेको सो समितिले एक साताभित्र छानविन गरी प्रतिवेदन सार्वजनिक गर्ने उक्त कार्यालयका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। मोबाइल चोरीको आरोपमा पक्राउ परेका मेचीनगर–६ का १५ वर्षीय किरण कार्कीढोलीको यही वैशाख २ गते राति हिरासतमा रहस्यमय तरिकाले निधन भएको थियो। प्रहरीले  एक भारतीय नागरिकले झुण्डिएर आत्महत्या गरेको भन्दै घटना ढाकछोप गर्न खोजे पनि उनी नेपाली नागरिक  भएको व्यहोरा सार्वजनिक भएको थियो।

Hardik ivf

प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले  हिरासतमा रहेको बाथरुममा झुण्डिएको अवस्थामा उनको शव फेला परेको जानकारी दिए। उनका अनुसार आफन्तले हत्या नै गरिएको आरोप लगाउँदै छानविन हुनुपर्ने माग गरेकाले सो समिति गठन भएको हो। “शुरुमा भारतीय नागरिक हो भन्ने सूचना आएको थियो आफन्त नभेटेपछि बेवारिसे मुचुल्का बनाएर शव परीक्षणका लागि मेची अञ्चल अस्पताल ल्याइएको थियो, ” उपरीक्षक श्रेष्ठले भने, “पछि उनको  घर काँकडभिट्टा भएको पत्ता लागेपछि शव आफन्तलाई  बुझाइएको हो।”

बाथरुमको धाराको टुटीमा किशोरले लगाइरहेको कपडाको पासो बनाएर आत्महत्या गरेको प्रहरीले जनाएको थियो। कार्की ढोली मोबाइल चोरीको अभियोगमा गत चैत २९ गते बेलुका बिर्तामोडबाट पक्राउ परेका थिए।  मृतक किशोरका बुबा  रमेशले आफूलाई घटनाको विषयमा वैशाख २ गते बिहान १० बजे मात्रै थाहा भएको र त्यति बेलासम्ममा छोराको शवलाई मेची अञ्चल अस्पताल पुर्‍याएर परीक्षण गरिसकेको बताए।  कक्षा ५ मा अध्ययनरत कार्की ढोलीको मृत्युपछि प्रहरीले बनाएकोे स्थलगत मुचुल्कामा उमेर १९ वर्ष पुगेको उल्लेख गरेपनि रमेशले आफ्नो छोरा  १५ वर्षमात्र पुगेको बताए।   

किशोरलाई पक्राउ गरेपछि अरु वयस्कसँगै हिरासतमा राख्न नमिल्ने कानूनी व्यवस्था रहेको मानवअधिकारकर्मी विष्णु खरेलले बताए। उनले भने, “हामीले पनि सो घटना ढिलोगरी थाहा पायौं हामीलाई पनि प्रहरीले बालकको उमेर १९ वर्ष भनेको थियो तर उनी १५ वर्षका भएकाले हिरासतमा राख्न मिल्दैनथ्यो।”

पक्राउ परेका बालकलाई प्रहरीले अदालतबाट म्याद थपसमेत नगरेको पाइएको छ।  पक्राउपछि २४ घण्टाभित्रमा अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने कानूनी व्यवस्था रहेकाे उल्लेख गर्दै खरेलले भने,“प्रहरीले यो घटनामा एकपछि अर्को गल्ती गरेको देखिन्छ।”

यसैबीच हिरासतमा किशोरको मृत्यु भएको घटनाप्रति मानव अधिकारकर्मीले शुक्रबार विज्ञप्ति जारी गर्दै १८ वर्षमुनिका किशोर–किशोरीलाई  हिरासतमा राख्न नपाइने र आत्महत्या गर्ने अवस्थामा पुर्‍याउनु प्रहरीको लापर्बाही भएकाले सो घटना छानविन गर्न माग गरेका थिए।

संयुक्त विज्ञप्तिमा उक्त घटनाको सत्यतथ्य उजागर गर्न, दोषीलाई कारवाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुका साथै अनारमनी इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास खड्कालाई तत्काल निलम्बन गर्न र घटनामा दोषी ठहरिए कारवाही गर्न पनि माग गरिएको थियो। रासस

प्रकाशित मिति: १३:३६ बजे, शनिबार, वैशाख ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्