विजय मृत्यु घटना : प्रहरीलाई निलम्बन गर्न सिफारिस
जनकपुरधाम, भदौ १५ : हिरासतमा कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न प्रहरीलाई निलम्बन गरेर छानबिन गर्न प्रदेश २ को मुख्य न्यायाधिवक्ताको कार्यालयले सिफारिस गरेको...
जनकपुरधाम, भदौ १५ : हिरासतमा कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न प्रहरीलाई निलम्बन गरेर छानबिन गर्न प्रदेश २ को मुख्य न्यायाधिवक्ताको कार्यालयले सिफारिस गरेको छ।
प्रहरीको हिरासतमा रहेका रौतहतको गरुवाडा नगरपालिका ८ का विजय महराको उपचारका क्रममा मृत्यु भएको थियो। उनलाई इलाका प्रहरी कार्यालय, गरुडाले हिरासतमा राखेर कुटपिट गरेको छ। हिरासतमा निर्घात कुटपिट गरेको स्थानीय वासिन्दाले आरोप लगाएका थिए।
प्रहरीको कुटपिटबाट गम्भीर घाइते भएका विजयको भदौ १२ गते उपचारका क्रममा वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा मृत्यु भएको थियो। प्रहरीको कुटपिटबाट मृत्यु भएको जनाउँदै स्थानीय बासिन्दा आन्दोलनमा छन्।
यसैबीच प्रदेश २ को मुख्य न्यायाधिवक्ताको कार्यालयले घटनामा संलग्न प्रहरीलाई निलम्बन गरेर छानबिन सुरु गर्न प्रदेश २ प्रहरी कार्यालयलाई सिफारिस गरेको छ। मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले भदौ १४ गते प्रदेश २ प्रहरी कार्यालयलाई पठाएको पत्रमा कुटपिटबाट मृत्यु भएको देखिन आएको जनाएको छ।
पत्रमा भनिएको छ, 'मृतकको शव परीक्षणमा संलग्न् चिकित्सकहरको प्रारम्भिक भनाइअनुसार, मृतकको हात तथा पिठ्यूँमा चोटको निशान देखिएको छ भने जानकारी प्राप्न भएको छ। तसर्थ यस घटनामा संलग्न तथा दोषी देखिएका प्रहरी कर्मचारी उपचार प्रारम्भिक प्रतिवेदनको आधारमा तत्काल निलम्बन गरी, विश्वसनीय छानबिन प्रक्रियालाई अगाडि कानुन बमोजिमको कारबाही गर्न मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका अन्य शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को दफा ४ को उपदफा १ को देहाय (च) बमोजिम सिफारिश गरिन्छ।'












