कारागारमा कोरोना : देशभर १६६ कैदीबन्दीमा संक्रमण
काठमाडौं, भदौ १५ : कोरोना भाइरसको संक्रमण कारागारमा पनि पुगेको छ। अहिलेसम्म देशभरका कारागारमा एक सय ६६ जना कैदीबन्दीमा संक्रमण देखिएको छ।पछिल्लो समय...
काठमाडौं, भदौ १५ : कोरोना भाइरसको संक्रमण कारागारमा पनि पुगेको छ। अहिलेसम्म देशभरका कारागारमा एक सय ६६ जना कैदीबन्दीमा संक्रमण देखिएको छ।
पछिल्लो समय कारागारभित्र बस्ने कैदीबन्दीमा पनि कोरोना सङ्क्रमण बढ्दै गएको कारागार व्यवस्थापन विभागले जनाएको छ। बिभागका अनुसार सोमबारसम्म एक सय ६६ जना कैदीबन्दीमा कोरोना देखिएको छ।
अहिलेसम्म कारागारमा रहेका आठ सय ७९ जना कैदीबन्दीको कोरोना परीक्षण गरिएको छ। संक्रमण देखिएकाहरुमध्ये ७२ जना निको भइसकेको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले बताए।
पहिलो पटक भदौ पहिलो साता पर्साको वीरगञ्ज कारागारमा संक्रमण देखिएको थियो। त्यसपछि जोखिम क्षेत्रका अन्य सात वटा कारागारमा नमूना सङ्कलन गरेर परीक्षण गरिएको थियो। ति कारागारमा पनि संक्रमण देखिएको सापकोटाले बताए।
नयाँ कैदीबन्दी र कारागारको सुरक्षामा खटिएका प्रहरीमा पहिलो पटक कोरोना देखिएको थियो। केही दिनअघि काठमाडौंको केन्द्रीय कारागारसहित स्याङ्जा, बाँके, सिन्धुपाल्चोक, सिरहा, सुनसरी र पर्साको कारागारमा शङ्कास्पद कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारीको परीक्षण गरिएको सापकोटाले बताए।
काठमाडौंको केन्द्रीय कारागारमा मात्रै चार जना कैदीबन्दीमा कोरोना देखिएको छ। कारागारका सुरक्षाका लागि खटिएका दुई सय सात जना प्रहरीमा पिसीआर परीक्षण गर्दा ५२ जनालाई र ७८ जना कर्मचारीको परीक्षण गर्दा सात जनामा संक्रमण देखिएको उनले बताए।
अहिले देशभरका कारागारमा २४ हजार एक सय कैदीबन्दी छन्। त्यस्तै, आठ सय २० जना कर्मचारी र झण्डै दुई हजार सुरक्षाकर्मी छन्।











