Kathmandu Press

महिला स्वतन्त्रताका लागि स्व. सिंहको भूमिका महत्वपूर्णः महामन्त्री कोइराला

काठमाडौं, भदौ १५ : नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले महिला स्वतन्त्रताका लागि स्वर्गीय मङ्गलादेवी सिंहको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।गिरिजाप्रसाद कोइराला फाउण्डेशनले महिला...
महिला स्वतन्त्रताका लागि स्व. सिंहको भूमिका महत्वपूर्णः महामन्त्री कोइराला

काठमाडौं, भदौ १५ : नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले महिला स्वतन्त्रताका लागि स्वर्गीय मङ्गलादेवी सिंहको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशनले महिला नेत्री मङ्गलादेवी सिंहको २४ औँ स्मृति दिवसका अवसरमा आइतबार साँझ आयोजना गरेको ‘कोभिड–१९ पछिको नयाँ विश्वमा नेपालमा महिला नेतृत्व’ विषयक भर्चुअल अन्तक्रियामा उनले महिलालाई अहिलेको अवस्थामा पुर्याउन स्व सिंहको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् । 

महामन्त्री डा. कोइरालाले महिलालाई पुरुषसरहको अधिकार स्थापित गराउन स्व. मङ्गलादेवी सिंह, स्व दिव्या कोइराला, शैलजा आचार्य, सुशीला कोइराला लगायत महिलाको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे । 

कांग्रेस केन्द्रीय सदस्य एवं फाउण्डेशन अध्यक्ष सुजाता कोइरालाले १६ वर्षको उमेरबाट महिला, हक अधिकारका लागि लड्ने साहसी महिला मङ्गलादेवी सिंह भएको बताए ।

“संविधानमा महिलालाई ३३ प्रतिशत अधिकार दिए पनि महिलाको अधिकार किन स्थापित हुन सकेन, कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीमा किन महिला पछाडि परे, यसबारे सरकार र पार्टीभित्र छलफल हुनुपर्छ”, उनले भने । महिलाले महिलालाई सहयोग गरेमात्र महिलाको आवाज बुलन्द हुने उनको भनाइ थियो । 

केन्द्रीय सदस्य कमला पन्तले १४ औँ महाधिवेशनमा उमेरका आधारमा भन्दापनि एजेण्डाका आधारमा नेतृत्व चयन गर्नुपर्ने बताए । “नेपाली महिलाहरु पार्टीभित्र एक ठाउँमा उभिन सकेमात्र चाहेको अधिकार प्राप्त गर्न सक्छौँ”, उनले भने। केन्द्रीय सदस्य सरिता प्रसाईँले महिलाका कारण लोकतान्त्रिक आन्दोलन सफल भएको बताए। महिला अधिकार स्थापित गराउन नेपाल महिला सङ्घ लड्नुपर्ने उनको भनाइ थियो । 

कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले समानताको अधिकार खोज्ने कांग्रेसभित्र नेतृत्वको अधिकारमा पनि समानता हुनुपर्ने बताईन् । उनले  शिक्षा, स्वास्थ्य र रोजगारमा समानता नखोजेसम्म महिलाले अधिकार नपाउने उल्लेख गरिन् । (रासस) 


 

प्रकाशित मिति: ०८:१४ बजे, सोमबार, भदौ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्