स्वास्थ्य मन्त्रालयले भन्यो- पीसीआर परीक्षण गर्न भनसुन नगरौं
काठमाडौं, भदौ १३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गराउन भनसुन गर्ने क्रम बढेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...
काठमाडौं, भदौ १३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गराउन भनसुन गर्ने क्रम बढेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पीसीआर कोरोनाको अचुक औषधि नभएको बताउँदै शंकास्पदको मात्रै परीक्षण गरिने बताए। उनले कसैलाई आफूखुसी परीक्षण गराउन मन लागेको भए पैसा तिरेर गर्ने व्यवस्था मिलाइएको भन्दै भनसुन नगर्न आग्रह गरे।
'पीसीआर गर्न भनसुन गर्ने प्रवृत्ति बढेकोप्रति ध्यानाकर्षण भएको छ। यो कोरोनाको अचुक औषधि होइन। यसमा प्रयोग हुने उपकरण नेपालमा बन्दैनन्। ठूलो धनराशी विदेशिन्छ,’उनले भने,‘सरकारले शंकास्पदको निशुल्क परीक्षण गर्छ। आफूखुसी परीक्षण गराउनले पैसा तिरेर गर्ने व्यवस्था मिलाइएको छ। त्यसैले अनावश्यकरुपमा परीक्षण नगर्न नगराउन अनुरोध छ।’
उनले महँगो सामग्रीको अभाव समेत रहेकाले अनावश्यक रुपमा परीक्षण नगर्न आग्रह गरे। नेपालमा ६ लाख ७९ हजार ६२६ जनाको पीसीआर परीक्षण गर्दा ३७ हजार ३४० मा संक्रमण पुष्टि भएको छ।











