Kathmandu Press

नेपालमा प्रत्येक दुई घण्टामा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं, भदौ १३ : नेपालमा कोरोना भाइरसको संक्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ। कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ। कोरोनाबाट दैनिक मर्नेको...
नेपालमा प्रत्येक दुई घण्टामा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं, भदौ १३ : नेपालमा कोरोना भाइरसको संक्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ। कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ। 

कोरोनाबाट दैनिक मर्नेको संख्या अहिले सम्मकै धेरै हो। शुक्रबारको तथ्यांक हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना संक्रमितको मृत्यु भइरहेको छ। 

भदौ शुरु भएयता १२ दिनमा कोरोनाबाट ८१ जनाले ज्यान गुमाइसकेका छन् । कोरोना संक्रमणबाट बिहीबार नौ तथा बुधबार ११ जनाले ज्यान गुमाएका थिए । भदौ यता शुक्रबार सम्ममा कोरोनाबाट एक दिनमा औसतमा झण्डै सात जनाको ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या दैनिक बढ्ने देखिन्छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार साउनमा कोरोना मृत्यु दर नेपालमा सून्य दशमलव ४ प्रतिशत थियो । भदौ लागेपछि मृत्यु दर बढेर सून्य दशमलव ५ प्रतिशत पुगेको छ । कोरोनाका कारण साउन ३२ गते सम्ममा नेपालमा १०४ जनाले ज्यान गुमाएका थिए । शुक्रबार सम्ममा उक्त संख्या बढेर १९५ पुगेको छ । मर्नेमा महिला २६ प्रतिशत अर्थात् ५१ तथा पुरुष ७४ प्रतिशत अर्थात् १४४ जना रहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शुक्रबारसम्म कोरोनाबाट पर्सा ३३, काठमाडौं १८, मोरङ १६, धनुषा १३, बारा १२, बाँके र रुपन्देही सात–सात, कैलाली, सप्तरी, सुनसरी, चितवन र सिरहा पाँच–पाँच, सर्लाही, महोत्तरी, कपिलवस्तु, मकवानपुर, भक्तपुर र कास्की चार–चार, रौतहट, ललितपुर, गुल्मी र सिन्धुपाल्चोक तीन–तीन, अछाम, सुर्खेत, झापा, स्याङ्जा, काभ्रेपलाञ्चोक र दोलखा दुई–दुई तथा दैलेख, दाङ, बाजुरा, पाल्पा, प्यूठान, अर्घाखाँची, बर्दिया, बझाङ, बागलुङ, तनहुँ, नवलपरासी पश्चिम, धादिङ, गोर्खा, उदयपुर, म्याग्दी र डोल्पामा एक–एक जनाको मृत्यु भएको छ । 

प्रदेशगत रुपमा हेर्ने हो भने कोरोना संक्रमणबाट शुक्रबारसम्म प्रदेश नं १ मा २४, प्रदेश नं २ मा ७८, वाग्मती प्रदेश ४२, गण्डकी प्रदेश १०, प्रदेश नं ५ मा २७, कर्णाली प्रदेश चार तथा सुदूरपश्चिममा १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १० वर्ष मुनिका उमेर समूहका संक्रमित मर्नेको संख्या दुई महिला र दुई पुरुषसहित चार, ११ देखि २० वर्ष उमेर समूहका तीन महिला र दुई पुरुषसहित पाँच तथा २१ देखि ३० वर्ष उमेर समूहका चार महिला र आठ पुरुषसहित १२ जना रहेका छन् । 

यसैगरी ३१ देखि ४० वर्ष उमेर समूहका चार महिला र १३ पुरुषसहित १७, ४१ देखि ५० वर्ष उमेर समूहका १० महिला र ३२ पुरुषसहित ४२, ५१ देखि ६० वर्ष उमेर समूहका ६ महिला र ३२ पुरुषसहित ३८, ६१ देखि ७० वर्ष उमेर समूहका १४ महिला र २६ पुरुषसहित ४०, ७१ देखि ८० वर्ष उमेर समूहका पाँच महिला र २१ पुरुषसहित २६ तथा ८० वर्षभन्दा माथिको उमेर समूहका तीन महिला र आठ पुरुषसहित ११ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।  

नेपालमा कोरोनाबाट निको भएर घर फर्किनेको संख्या ५५ दशमलव पाँच प्रतिशत रहेको छ । हाल देशका सरकारी ३३ र निजी क्षेत्रको ११ गरी ४४ प्रयोगशालामा पिसिआर परीक्षण भइरहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । शुक्रबार देशभर ९२७ जना कोरोना संक्रमित थपिएकामा तीमध्ये प्रदेश नं १ मा १११, प्रदेश नं २ मा ९१, वाग्मती प्रदेशमा ५३२, गण्डकी प्रदेश ३५, प्रदेश नं ५ मा ११७, कर्णाली प्रदेश २० तथा सुदूरपश्चिम प्रदेश २१ जना रहेका थिए ।

प्रवक्ता गौतमका अनुसार हाल देशभर ५०० भन्दा बढी संक्रमित भएका नौ जिल्ला रहेका छन् । काठमाडौं, ललितपुर, मोरङ, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट र सर्लाहीमा कोरोना संक्रमितको संख्या ५०० भन्दा बढी छ । मुस्ताङ र हुम्ला कोरोना संक्रमित मुक्त जिल्ला हुन् । 

मन्त्रालयको तथ्याङ्कअनुसार प्रदेश नं १ मा होम आइसोलेसनमा ४२२, प्रदेश नं २ मा तीन हजार ८६२, वाग्मती एक हजार ६१२, गण्डकी प्रदेश १८, प्रदेश नं ५ मा ४५६, कर्णाली प्रदेश २७ तथा सुदूरपश्चिम ४९ जना रहेका छन् । सघन उपचार कक्ष र भेन्टिलेटरमा राखेर प्रदेश नं १ मा २४, प्रदेश नं २ मा ४४, वाग्मती प्रदेश ९८, गण्डकी तीन तथा प्रदेश नं ५ मा १७ संक्रमितको उपचार भइरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा कोही पनि संक्रमितलाई सघन उपचार कक्ष र भेन्टिलेटरमा नराखिएको प्रवक्ता गौतमले बताए।   

शुक्रबारसम्म देशभर ६ लाख ५८ हजार ११० जनाको पिसिआर परीक्षण गरिएको छ । प्रवक्ता गौतमका अनुसार हाल नेपालमा संक्रमितको संख्या ३६ हजार ४५६ रहेको छ । तीमध्ये आइसोलेसनमा १६ हजार १९ संक्रमित रहेका छन् । हालसम्म २० हजार २४२ जना कोरोना निको भएर घर फर्किएका छन् । निको हुने संक्रमितको संख्या ५५ दशमलव पाँच प्रतिशत रहेको छ । देशभर शुक्रबारसम्म आठ हजार ९३९ जना क्वारेन्टिनमा छन् । 

कोरोनाबाट संक्रमित हुनेको संख्या प्रदेश नं १ मा एक हजार ५७४, प्रदेश नं २ मा पाँच हजार ६५३, वाग्मती प्रदेश ५५४, गण्डकी प्रदेश ४४५, प्रदेश नं ५ मा एक हजार ५००, कर्णाली प्रदेश ४१५ तथा सुदूरपश्चिममा ८९४ जना रहेको छ । 

यसैगरी कोरोनाबाट निको भएर घर फर्किनेको संख्या प्रदेश नं १ मा एक हजार ५३६, प्रदेश नं २ मा चार हजार ५१७, वाग्मती प्रदेश ९६६, गण्डकी प्रदेश एक हजार ६८८, प्रदेश नं ५ मा चार हजार ७०८, कर्णाली प्रदेश दुई हजार २९ तथा सुदूरपश्चिम प्रदेशमा चार हजार ७८९ जना रहेको छ।  

नेपालमा पहिलो कोरोना संक्रमितको मृत्यु गत जेठ २ गते भएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा सागरकुमार राजभण्डारी नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा दीर्घरोगी धेरै रहेको बताउँछन्। उनीहरु लामो समयदेखि विभिन्न रोगसित लड्दै आएका तथा औषधि सेवन गरिरहेका पाइएको छ । समुदायमा कोरोना फैलँदै गएकाले मृत्यु दर ह्वात्तै बढ्ने राजभण्डारीले बताए।

काठमाडौं उपत्यका कोरोनाको ‘हटस्पट’ बन्दै गएको छ । केही हप्ता यता यहाँ संक्रमितको संख्या अत्यधिक बढेको छ । काठमाडौं महानगरपालिका, कीर्तिपुर, मनोहरा कागेश्वरी र चन्द्रागिरि नगरपालिका कोरोनाबाट बढी प्रभावित छन् । शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालका डा शेरबहादुर पुन साउनमा लकडाउन खुलेसँगै बाहिरी जिल्लाबाट आउने व्यक्तिको परीक्षण र व्यवस्थापन गर्न नसक्दा कोरोना संक्रमित बढेको बताउँछन्।

बाहिरी जिल्लाबाट आउनेलाई काठमाडौंमा क्वारेन्टिनमा राख्न सकिएन भने उनीहरुको पिसिआर परीक्षण पनि हुन नसकेको पुनको बुझाइ छ। बाहिरबाट आएका धेरैजसो संक्रमित लुकेर समेत बसेको पाइएको छ।

काठमाडौं उपत्यकाको जनघनत्व अत्यधिक हुँदा कोरोना संक्रमण दिन प्रतिदिन फैलिँदै गएको छ। अब परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने चिकित्सक बताउँछन्। रासस
 

प्रकाशित मिति: १३:५५ बजे, शनिबार, भदौ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्