कोरोना संक्रमणबाट पर्सामा थप तीन जनाको मृत्यु
वीरगञ्ज, भदौ १३ : पर्सामा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट वीरगञ्ज महानगरपालिका-१२ का ४३ र वीरगञ्ज-२६ का ३७...
वीरगञ्ज, भदौ १३ : पर्सामा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट वीरगञ्ज महानगरपालिका-१२ का ४३ र वीरगञ्ज-२६ का ३७ वर्षीय पुरुष तथा वीरगञ्ज-१२ मुर्लीकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो।
एचआईभी र हेपाटाइटिस बीबाट ग्रसित वीरगञ्ज-१२ का ४३ वर्षीय पुरुषको वीरगञ्ज कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने वीरगञ्ज-२६ का ३७ वर्षीय पुरुषको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको नारायणी अस्पताललका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए।
शुक्रबार दिउँसो कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएका उनको स्थिति गम्भीर भएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो। काठमाडौं लैजाँदै गर्दा गएराति बाटोमै मृत्यु भएको हो।
यस्तै, वीरगञ्ज–१२ मुर्लीकी ६५ वर्षीया महिलाको उपचारका क्रममा नारायणी अस्पतालमा मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार दिउँसो २ बजेतिर नारायणी अस्पतालमा भर्ना भएकी ती महिलाको उपचारका क्रममा शुक्रबार साँझ मृत्यु भएको अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिए।
योसँगै पर्साका मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ।











