गोरखाकी कोरोना संक्रमित महिलाले जन्माइन् जुम्ल्याहा बच्चा
भरतपुर, भदौ १३ : चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना संक्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन्। शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था...
भरतपुर, भदौ १३ : चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना संक्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन्।
शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ। गोरखा नगरपालिका–१० छेपेटारकी ३७ वर्षकी गर्भवतीमा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी भदौ ८ गते अस्पताल भर्ना भएकी थिइन्।
आमाको संक्रमण बच्चालाई नसरोस् भनेर अलग्गै राखिएको भरतपुर अस्पताल प्रसूति विभागका चिकित्सक डा. रामप्रसाद सापकोटाले जानकारी दिए।
आमाको कोरोना रिपोर्ट नेगेटिभ नआउँदासम्म आमा र बच्चालाई अलग्गै राखिने उनले बताए। भरतपुर अस्पतालले गर्भवतीको प्रसूतिका लागि कोभिड र ननकोभिड छुट्टाएर राखेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए।
भरतपुर अस्पतालमा कोरोना संक्रमित महिलाको अप्रेसन गरिएको यो दोस्रोपटक भएको उनले जानकारी दिए।
प्रकाशित मिति: ०८:१६ बजे, शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











