मोरङको बेलबारीमा दुई समूहबीच झडप, एक जनाको मृत्यु

विराटनगर, भदौ १२ : मोरङको बेलबारी नगरपालिकामा दुई पक्षबीच झडप हुंँदा एक जनाको मृत्यु भएको छ। अन्य चार जना घाइते भएका छन्।
शुक्रबार अपराह्न १ बजे बेलबारी –५ कसेनी लोहन्द्रा पुलमा सोही स्थान बस्ने ३२ वर्षीय जितेन चौधरी, २५ वर्षीय दिनेश श्रेष्ठ र ३२ वर्षीय सन्तोष मगर तथा सोही स्थान बस्ने ४२ वर्षीय सईकुमार राई, ३५ वर्षीय समुद्र राई र १६ वर्षीय गौरव राईलगायतबीच सामान्य वादविवाद हुँदा खुकुरी प्रहारबाट घाइते भएका ४० वर्षीय चन्द्रकुमार राईको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
खुकुरी प्रहारबाट घाइते उनको विराट शिक्षण अस्पताल बूढीगङ्गामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए। घाइते सईकुमार, समुद्र र गौरव राईको सोही अस्पतालमा उपचार भइरहेको छ।
खुकुरी प्रहार गर्ने समूहका जितेनसमेत घाइते भएकामा विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। झगडामा संलग्न अन्य तीन जना फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।












