Kathmandu Press

दलितविरूद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न समता फाउन्डेशनको माग 

काठमाडौं, भदौ १२ :  दलितविरूद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न समता फाउन्डेशनले माग गरेको छ।फाउन्डेशनका अध्यक्ष प्रदीप परियारले शुक्रबार विज्ञप्ति जारी गरी...
दलितविरूद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न समता फाउन्डेशनको माग 

काठमाडौं, भदौ १२ :  दलितविरूद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न समता फाउन्डेशनले माग गरेको छ।

फाउन्डेशनका अध्यक्ष प्रदीप परियारले शुक्रबार विज्ञप्ति जारी गरी पछिल्लो समय मानवअधिकार उल्लंघनका घटना देशभर बढ्दै गएको र दलित समुदायविरूद्ध भइरहेका हिंसात्मक घटनाका घटेको बताएका छन्। 

उनले  पछिल्लो पटक प्रदेश–२, रौतहट जिल्ला गरूडा नगरपालिका–८ का विजयराम चमारको मृत्युले दलित समुदायविरूद्ध भइरहेको हिंसा, उत्पीडन र विभेद छर्लङ्ग पारेको बताएका छन्।

‘गरूडा–८ कै निरञ्जन रामको २०७७ साउन ३२ मा भएको हत्या अनुसन्धानमा इलाका प्रहरी कार्यालय गरूडाले विजयराम चमारलाई हिरासतमा लिएको थियो। हिरासतमै चमारलाई चरम यातना दिइएको, यातनाकै कारण स्वास्थ्य गम्भीर भएपछि नेशनल मेडिकल हस्पिटल वीरगञ्जमा भर्ना गरिएको र उपचारकै क्रममा २०७७ भदौ ११ गते राति उनको मृत्यु भएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रहरी सुरक्षामै रहेका चमारको यातनाकै कारण मृत्यु भएको यो घटनाप्रति समता फाउण्डेशनको गम्भीर ध्यानाकर्षण भएको छ।’

हिरासतमै यातना र मृत्युको यो घटना संविधानले प्रत्याभूत गरेको मौलिक हक, जीवनमाथिको अधिकार, यातनाविरूद्धको हक, स्वच्छ न्यायसम्बन्धी हक तथा मानवअधिकारसम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दस्तावेजमा उल्लेखित व्यवस्थाविरूद्ध भएको परियारले बताएका छन्। बारम्बार हुने दलित समुदायविरुद्ध भएका यस प्रकारका घटना हुन नदिन समता फाउण्डेशनले सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएको छ। 
 

प्रकाशित मिति: १९:१९ बजे, शुक्रबार, भदौ १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्