बारामा एउटै गणका ४९ सशस्त्र प्रहरीमा कोरोना संक्रमण

बारा, भदौ १२ : बाराको पिलुवासिथत सशस्त्र प्रहरी बलको ४० नम्बर रिजर्भ गणमा कार्यरत ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
उनीहरु कोरोना क्षेत्रमा खटिएर फर्किका सशस्त्र प्रहरी रहेको जनाएको छ। आज आएको रिपोर्टमा ४९ जनामा कोरोना पोजिभिट देखिएको जिल्ला प्रहरी कार्यालय, बाराका डिएसपी गौतम मिश्रले बताए।
कोरोना क्षेत्रमा खटिएर फर्किएपछि रिजर्भ गणका एक सय १२ जनाको भदौ ७ गते स्वाब संकलन गरिएको थियो। उनीहरुको हेटौडीस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो।
शुक्रबार आएको रिपोर्टमा एक सय १२ जनामध्ये ४९ जनामा कोरोना संक्रमण देखिएको हो। उनीहरुमा कोरोनाको लक्षण नरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मिश्रले बताए।
आज संक्रमण देखिएका सशस्त्र प्रहरीसँगै बारामा कोरोना संक्रमितको संख्या आठ सय ६ पुगेको छ। उनीहरुमध्ये दुई सय ९५ जना निको भइसकेका छन। कोरोनाबाट बारामा १५ जनाको मृत्यु भएको छ।











