चितवनका संक्रमितमध्ये १८ प्रतिशत स्वास्थ्यकर्मी

चितवन, भदौ ११ : दैनिक बढ्दै गएको कोरोना संक्रमणमा जिल्लाका अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी बढी प्रभावित भएका छन्।
भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार बुधबार रातिसम्म आएको संक्रमितको तथ्याङ्कमा १८ प्रतिशत अस्पतालकै स्वास्थ्यकर्मी रहेका छन्। जिल्लामा कुल संक्रमितको संख्या ४७१ मध्ये ८५ जना स्वास्थ्यकर्मी छन्। उनीहरु जिल्लाका विभिन्न अस्पतालमा कार्यरत छन्।
सोमध्ये सबैभन्दा बढी वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका २६, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजका १६÷१६ जना छन्। भरतपुर अस्पतालका १५, नारायणी सामुदायिक अस्पतालका तीन, स्थानीय क्लिनिकका तीन र सेन्ट्रल अस्पतालका दुई जना रहेका छन्। त्यस्तै रत्ननगर बकुलहर अस्पताल, मौलाकालिका अस्पताल, मनकामना अस्पताल र बाहिरी जिल्लाका सरकारी अस्पतालमा काम गर्ने एक÷एक जना स्वास्थ्यकर्मी रहेको पौडेलले जानकारी दिए।
हालसम्मको तथ्याङ्कअनुसार जिल्लामा सबैभन्दा बढी संक्रमित भरतपुर महानगरका २८४, माडीका ५०, रत्ननगरका ३८, राप्तीका ७५, खैरहनीका १७, कालिका नगरपालिकाका पाँच र इच्छाकामना गाउँपालिकाका दुई जना रहेका छन्। संक्रमित स्वास्थ्यकर्मी र अरु बिरामी सरकारी अस्पताल, दुई मेडिकल कलेजका अइसोलेसन र घरमै रहेका छन्। स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारी बिरामीबाट अस्पतालमा संक्रमण आएको र स्वास्थ्यकर्मीमा फैलिएको बताउछन्। बिरामीमा संक्रमण नहोला भन्ने अनुमान गर्दै स्वास्थ्यकर्मीले सुरक्षाकवज प्रयोग नगर्दा संक्रमण फैलिएको उनको अनुमान छ।











