Kathmandu Press

काष्ठमण्डप पुनःनिर्माणको ७० प्रतिशत काम सकियो

काष्ठमण्डप पुनःनिर्माणको ७० प्रतिशत काम सकियो

काठमाडाैं, भदौ ११ : काष्ठमण्डप पुनःनिर्माणको काम लक्ष्यानुरुप अघि बढिरहेको छ।  काष्ठमण्डप  पुनःनिर्माण समितिले हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ। पहिलो तलाको काम सम्पन्न गरी अहिले दोस्रो तलामा काठको काम भइरहेको बताइएको छ।   

विश्वभरि फैलिएको कोरोना भाइरसका कारण गत चैतवैशाखमा काम हुन नसके पनि अहिले दैनिक ३५  कामदारले नियमितरुपमा काम गरिरहेका छन्। अहिले भएका कामदारले यही गतिमा काम गर्न पाए तोकिएको समयमा नै पुनःनिर्माणको काम सम्पन्न हुने पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताए। 

विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको शुरुआत २०७५ साल कात्तिक २२ गतेदेखि भएको हो। निर्धारित समयानुसार समितिले २०७८ असार मसान्तसम्म निर्माणको काम सम्पन्न गर्नुपर्नेछ।

 पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई १० करोड ५० लाख आर्थिक सहयोग गरिसकेको छ। पुनःनिर्माणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्छ।
 
भूकम्पले पूर्णरुपमा क्षति पुर्‍याएपछि सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको काम अहिले तीव्ररुपमा भइरहेको हो। तत्कालीन राजा लक्ष्मीनरसिंह मल्लका पालामा एउटै रुखबाट काष्ठमण्डप निर्माण गरेको इतिहास छ।

निर्माणका क्रममा अहिले प्रयोग गरिएका केही काठ पुरानै र केही टिम्बर कर्पोरेशन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको हो। अहिले छानामा प्रयोग हुने काठको आवश्यकता परेकाले धनगढीबाट ल्याउने तयारी भएको अध्यक्ष शाक्यले जानकारी दिए।  

हाल पहिलो तलामा प्रयोग गरिएका चार थाममध्ये तीन नयाँ र एउटा पुरानै प्रयोग गरिएको समितिले जनाएको छ। काष्ठमण्डप नेपालकै मौलिकता र इतिहास झल्काउने एवं संस्कृतिसँग जोडिएकाले सबैको मन जितेर पारदर्शीरुपमा निर्माणलाई नमूना बनाउनुपर्ने स्थानीयवासीको माग छ। रासस

प्रकाशित मिति: १५:४२ बजे, बिहीबार, भदौ ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्