Kathmandu Press

दोलखाको मेलुङमा रेबिजले तीन जनाको मृत्यु, टेकु अस्पतालबाट चिकित्सकको टोली जाँदै 

दोलखाको मेलुङमा रेबिजले तीन जनाको मृत्यु, टेकु अस्पतालबाट चिकित्सकको टोली जाँदै 
सांकेतिक तस्वीर

काठमाडौं, भदौ ११ :  दोलखाको मेलुङ गाउँपालिकामा रेबिज संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ।  

भुस्याहा कुकुरले एक दिनमा करिब एक दर्जन मानिसलाई टोक्दा मेलुङ–५, ६ र ७ का स्थानीयमा त्रास फैलिएको छ। गाउँपालिकका प्रमुख  नरबहादुर श्रेष्ठका अनुसार अहिले आधा दर्जन भन्दा बढी मानिसलाई रेबिज पुष्टि भइसकेको छ। 

असार २६ गते साविकको डाँडाखर्क र मेलुङ गाविसमा २ वटा भुस्याहा कुकुरले १० जनालाई टोकेको थियो। उनीहरु सबैमा रेबिज पुष्टि भइसकेको छ। रेबिज पुष्टि  भएका कुसन नेपाली, सुरज विक र रामचन्द्र भण्डारीको मृत्यु भएको छ। नेपालीको साउन २३ गते, विकको भदौ २ गते र भण्डारीको भदौ १० गते मृत्यु भएको श्रेष्ठले जनाकारी दिए। अहिले थप सात जना संक्रमित रहेको उनले बताए।

उनका अनुसार मानबहादुर तामाङ, रेलीमाइ तामाङ, मैया तामाङ, भीमबहादुर श्रेष्ठ, कीर्तिका श्रेष्ठ र जनार्दन श्रेष्ठलाई रेबिज पुष्टि भएको छ। जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ। रेबिज लागेकाको मृत्यु भएपछि स्थानीयमा त्रास बढेको छ। 

'तीन जनाको मृत्यु भएपछि त्रास बढेको छ। बाँकी सात जनालाई कसरी बचाउने भनेर हामी लागेका छौँ,' अध्यक्ष श्रेष्ठले भने।  

रेबिजको त्रास बढेपछि गाँउपालिकाले स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई पत्रचार गरेर स्वास्थ्यकर्मी पठाइदिन आग्रह गरेको छ।

श्रेष्ठका अनुसार महाशाखाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मीको टोली खटाइसकेको छ। 

'टेकु अस्पतालबाट स्वास्थ्यकर्मीको टोली बेलुकासम्म आइपुग्छ। त्यसपछि के गर्ने भन्नेबारे थाहा होला,' श्रेष्ठले भने, 'संक्रमितको सम्पर्कमा आएका व्यक्ति र उनीहरुको परिवारको उपचारको व्यवस्था मिलाउँछौं।'

कसरी फैलियो रेविज?

असार २६ गते गाउँमा दुई भुस्याहा कुकुरले १० जनालाई टोकेका थिए। स्थानीयका अनुसार ती कुकुर गाउँमा पहिलो पटक देखिएका थिए।  

कुकुरले १० जनालाई टोकेको खबर प्राप्त भएपछि गाउँपालिकाले सदरमुकाम चरिकोटस्थित जिल्ला अस्पतालमा गएर रेबिजविरुद्धको खोप लगाउन भनेको थियो। 

तर, स्थानीयले गाउँकै मेडिकलमा भ्याक्सिन लगाएका थिए। 'हामीले जिल्ला अस्पताल जानु भनेका थियौं। तर उहाँहरुले गाउँकै मेडिकलमा भ्याक्सिन लगाउनु भएछ,' श्रेष्ठले भने, 'मेडिकलमा भ्याक्सिनको  कोल्ड चेन मेन्टेन भएको थिएन वा तालिमप्राप्त स्वास्थ्यकर्मी थिएनन्। त्यसैले भ्याक्सिनले काम गरेन।'

श्रेष्ठका अनुसार १० जनालाई टोकेपछि स्थानीयले दुवै कुकुरलाई मारेका थिए। 'स्थानीयले कुकुर मारेर गल्ती गरेछन्। मेडिकली चाहिँ मार्न हुँदैन भन्ने रहेछ। तर आवेगमा आएर कुकुर मारेछन्,' उनले भने, 'जे हुनु भइगयो अब सात जनालाई बचाउने प्रयासमा हामी छौं। अहिले आइसोलेसनमा बस्न लगाएका छौं। उहाँहरुलाई भ्याक्सिनको अन्तिम डोज लगाउन बाँकी छ। अब टेकु अस्पतालको टोलीले हेर्छ।'

गाउँपालिकाले रेबिज लागेका भुसिया कुकुरले अन्य कुकुर पशुलाई समेत संक्रमित बनाएको हुनसक्ने भन्दै पशु सेवा विभागसँग समन्वय भइरहेको जनाएको छ।  

'संक्रमितसँगै गाउँका जनतालाई काउन्सिलिङ गर्ने पाटो त छँदैछ। अर्कोतर्फ गाउँमा भएका कुकुरका व्यवस्थापनका लागि पशु सेवा विभागसँग समन्वय गरिरहेका छौं,' श्रेष्ठले भने, 'कोरोनाको त्रास छ। अहिलेसम्म एक जनाको परीक्षण गर्न सकिएको छैन। बल्ल १३ जनाको स्वाब संकलन भएको छ। अर्कोतर्फ रेबिजले आतंक मच्चायो।'

प्रकाशित मिति: १४:१४ बजे, बिहीबार, भदौ ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्