अनलाइनबाट परीक्षा लिँदै मध्यपश्चिमाञ्चल विश्वविद्यालय

काठमाडौं, भदौ ११ : मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा सञ्चालित सेमेष्टरहरुको मध्यावधि (मिडटर्म) परीक्षा अनलान माध्यमबाटै लिने भएको छ।
विश्वविद्यालयले बिहीबारदेखि दुवै तहअन्तरगत विभिन्न सेमेष्टरमा अध्ययनरत परीक्षार्थीहरुको मध्यवाधि परीक्षा अनलाइनबाट लिने भएको हो। कोभिड–१९ का कारण भर्चुअल कक्षा सञ्चालन भएको र सोही अनुरुप भोलिदेखि अनलाइनबाट परीक्षा लिन थालिएको विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले जानकारी दिए।
‘हामीले मध्यपश्चिम विश्वविद्यालय डिजिटल, भर्चुअल तथा वैकल्पिक शिक्षण सञ्चालन नीति दिशानिर्देश २०२० तयार गरेका छौं,’ उनले भने, ‘कोभिडको संकटमा यस प्रणालीले परीक्षार्थीलाई परीक्षा दिन सहज हुनेछ।’ सबै परीक्षार्थीहरुलालाई ढुक्कका साथ परीक्षा दिन अपिल गर्दै उनले परीक्षार्थीहरुले भने तोकिएको समयमा उत्तर उपलब्ध गराउनुपर्ने जनाए।
परीक्षा भने भोलि बिहान ८ः०० बजे शुरु हुनेछ। प्रा.डा.उपकुलपति सिंहका अनुसार अनलाइन प्रणालीबाट परीक्षा गर्नेबारे गत साउन १९ गतेको निर्णय भएको थियो। मध्यपश्मिाञ्चल विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकाय केन्द्रीय क्याम्पसका प्रमुख तेजबिक्रम बस्नेतले कर्णालीको भौगोलिक अवस्थालाई ध्यानमा राखेर अनलाइन परीक्षा सञ्चालन गरिएको जानकारी दिए।
कोभिड–१९ को संकठमा विद्यार्थीलाई सहजता प्रदान गर्न यो सुविधा दिइएको जनाउँदै उनले कम्प्युटर नजान्नेहरुका लागि अफलाइन परीक्षाको समेत व्यवस्था गरिएको बताए। उनीहरुले भने हातैले लेखेर फोटो खिचेर वा स्क्यान गरेर पठाउनुपर्ने क्याम्पस प्रमुख बस्नेतको भनाइ थियो।
लोकवार्ता विज्ञान विभागका प्रमुख खगेन्द्र अधिकारीले अनलाइन परीक्षाले कर्णालीका भौगालिक रुपले विकट जिल्लाका विद्यार्थीहरुलाई बढी न्याय भएको बताए। यस परीक्षाले कोभिड–१९ ले धकेलिएको सेमेटष्टरको उपयोग भएको र शिक्षामा वैकल्पिक प्रणालीको प्रयोग भएको जनाइएको छ।











