लक्षण नदेखिएका संक्रमितलाई १४ दिनमा परीक्षण नगरी डिस्चार्ज गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं, भदौ १० : लक्षण नभएका कोरोना संक्रमितलाई १४ दिनमा अनिवार्य डिस्चार्ज गर्न स्वास्थ्य मन्त्रालयले देशभरका कोभिड अस्पताललाई निर्देशन दिएको छ।
मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले देशभरका कोभिड अस्पताललाई पत्रचार गर्दै लक्षण नभएका संक्रमितलाई संक्रमण पुष्टि भएको १० दिनमा पीसीआर परीक्षण गरी डिस्चार्ज गर्न निर्देशन दिएको हो।
यदि १० दिनमा गरिएको परीक्षणमा पोजेटिभ नै देखिए पनि १४ दिनमा परीक्षण नगरेर अनिवार्य डिस्चार्ज गर्न केन्द्रले निर्देशन दिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए।
१४ दिनमा डिस्चार्ज नगरिए सरकारले संक्रमितको उपचारमा लागेको खर्च स्रोत भर्ना नगरिने केन्द्रले जनाएको छ। स्वास्थ्य मन्त्रालयले साउन २९ गते नै केन्द्रलाई लक्षण नभएका संक्रमितलाई १४ दिनमा अनिवार्य डिस्चार्ज गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो।











