वाणिज्य बैंकमा सम्धीको नियुक्तिबारे ईश्वर पोखरेलले भने- सम्बन्धको दुरुपयोग भएको छैन
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय वाणिज्य बैंकमा प्रा.डा. उपेन्द्र कोइरालाको नियुक्तिमा आफ्नो सम्बन्धको दुरुपयोग नभएको बताएका छन्।
काठमाडौं, भदौ १० : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय वाणिज्य बैंकमा प्रा.डा. उपेन्द्र कोइरालाको नियुक्तिमा आफ्नो सम्बन्धको दुरुपयोग नभएको बताएका छन्।
बुधबार विज्ञप्ति जारी गरी रक्षामन्त्री पोखरेलले बैंकमा आफ्ना सम्धीलाई नियुक्ति गरेको भनी आएका सूचनाहरूको खण्डन गरेका हुन्। ‘मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान कानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन,’ उनले भनेका छन्।
रक्षामन्त्री पोखरेलले नियुक्तिका विषयमा आफ्नो कहीँकतै अवाञ्छित चासो वा हस्तक्षेप नभएको प्रष्ट्याएका छन्। । ‘यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु। मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएकार गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।
सोमबार अर्थमन्त्री डा. युवराज खतिवडाले रक्षामन्त्री पोखरेलका सम्धी कोइरालालाई वाणिज्य बैंकको सञ्चालक समितिको सदस्यमा नियुक्त गरेका थिए।











