Kathmandu Press

भदौ १६ देखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हुने 

भदौ १६ देखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हुने 

काठमाडौं, भदौ १० : सरकारले भदौ १६ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने भएको छ। नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सञ्चालनको तयारी गरेको हो। 

तथापि, पहिलो चरणको आन्तरिक उडान राजधानी काठमाडौँबाट हिमाली तथा पहाडी भेगमा मात्र हुनेछ। बन्दाबन्दीको पाँच महिनापछि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको सरकारले आन्तरिक उडान पनि सोही मितिदेखि शुरु गर्ने भएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दसैं तिहारजस्ता चाडपर्वलाई मध्यनजर गर्दै छिट्टै आन्तरिक उडान शुरु गरिने बताए। उनलेले केही पहाडी तथा हिमाली जिल्लाबाट आन्तरिक उडान सञ्चालन गरिने जानकारी दिए।

उनले भने, ‘अहिले देशका विभिन्न स्थानमा लकडाउन र निषेधाज्ञाको स्थिति भएकाले आन्तरिक उडान चलिहाल्ने अवस्था छैन। तर पनि मन्त्रालयकोतर्फबाट केही पहाडी र हिमाली जिल्लाबाट उडान सुचारु गर्नका लागि छलफलमै छौँ। निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल गरेर मन्त्रिपरिषद्मा प्रस्ताव लैजान्छौँ।’

कोभिड–१९ महामारीको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै तत्कालै तराईका जिल्लाका विमानस्थलमा आन्तरिक उडान नहुने पनि मन्त्री भट्टराईले स्पष्ट पारे। 

यसअघि भदौँ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान शुरु गर्ने निर्णय गरेको सरकारले कोभिड–१९ को संक्रमण राजधानीसहित विभिन्न जिल्लामा बढेपछि पुनः उडान स्थगन गरेको थियो।

‘अहिले देशभर कोरोना संक्रमण बढीरहेको छ, आन्तरिक हवाई उडानबाट आउने जाने प्रायः काठमाडौंबाट तराई र तराईबाट काठमाडौं जाने नै बढि हुने भएकाले सम्भावित जोखिमलाई ध्यान दिदैँ अहिलेलाई मन्त्रालयले केही पहाडी र हिमाली जिल्लामा पूर्वदेखि पश्चिमसम्मका क्षेत्रमा आन्तरिक उडान परीक्षणको रुपमा सञ्चालन गर्ने गृहकार्य गरिरहेको छ। यो भदौ १६ बाटै हुन्छ,’ पर्यटनमन्त्री भट्टराईले भने।

प्रकाशित मिति: ११:५५ बजे, बुधबार, भदौ १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्