मनाङमा स्वास्थ्य प्रमुखलाई नै कोरोना, जिल्ला अस्पताल सिल

मनाङ, भदौ १० : मनाङका जिल्ला स्वास्थ्य कार्यालय प्रमुखलाई नै कोरोना भाइरसको संक्रमण भएको छ।
जिल्लामा स्वास्थ्य कार्यालय प्रमुखसँगै दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले बताए। स्वास्थ्य प्रमुख नै सङ्क्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिकबाहेक सबै बन्द गरिएको मेडिकल अधिकृत डा.सन्तोष अधिकारीले बताए।
अर्का एक जना मनाङ ङिस्याङ गाउँपालिकाअन्तर्गत पिसाङ आधारभूत विद्यालयमा कार्यरत शिक्षक छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पनि प्रेस विज्ञप्ति जारी गरि मनाङका ४९ र ५१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको जनाएको छ।
उनीहरु साउन २० गते मनाङ प्रवेश गरेका हुन्। हालसम्म मनाङमा सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ भने एक जना निको भइसकेका छन्।
यही भदौ ७ गते सङ्क्रमण पुष्टि भएका दुई शिक्षकको सम्पर्कमा आएका एक सय १५ जनाको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएकामध्ये आज दुई जनामा सङ्क्रमण पुष्टि भएको हो।
मनाङमा सङ्क्रमित भेटिएका सबै बाहिरी जिल्लाबाट आएका कर्मचारी हुन्। सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान र स्वाब सङ्कलनको कार्यसमेत भइरहेको प्रजिअ गिरीले बताए।
त्यस्तै सदरमुकाम रहेको चामे गाउँपालिकाले पनि गाउँपालिका र वडा कार्यालयबाट दिइने अत्यावश्यकबाहेकका सेवाहरु भदौ १५ गतेसम्म स्थगित गरेको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए।











