काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी, आज निर्णय हुने

काठमाडौं, भदौं १० : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने बारे आज निर्णय हुने भएको छ ।
निषेधाज्ञाबारे छलफल गर्न हिजो बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने वा नथप्ने बारे कुनै निर्णय नगरे पनि आज पुनः बैठक बसेर यसबारे निर्णय लिनेछ । हिजो अबेरसम्म बैठक चले पनि कुनै निर्णय नभएको र आज बिहान फेरि बैठक बस्ने काठमार्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दहालले जानकारी दिए ।
यसअघि हिजो दिउँसो तीनजना प्रजिअसहित बसेको काठमाडौं, ललितपुर र भक्तपुरका कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले १७ भदौ मध्यरातसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने सिफारिस गरेको थियो। गत साउन ३ गते राति १२ बजेदेखि लागू हुने गरी तीनै जिल्लाका प्रजिअसहितको बैठकले एक साताका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो।
उक्त आदेश बुधबार (आज) राति १२ बजे सकिँदैछ। काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका हुन् । निषेधाज्ञा जारी भएपछि अत्यावश्यकबाहेकका गतिविधि रोकिएका छन्।











